धनुषामा दुर्व्यवहार गर्ने जनमत पार्टीका १७ जना कार्यकर्ता माथि मुद्दा चलाइने
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १६० पटक पढिएको

नेपाल खानेपानी तथा ढल व्यवस्थापन संस्थान धनुषाका निमित्त प्रमुख राजेश्वर कुशवाहामाथि हातपात तथा दुर्व्यवहार गर्ने जनमत पार्टीका १७ जना कार्यकर्ता माथि मुद्दा चलाइने भएको छ । कुशवाहामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बिहीबार ६२ जनालाई पक्राउ गरेका थिए । बाँकी रिहा भइसकेका छन् ।
तीमध्ये १७ जनामाथि मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय धनुषा प्रहरीले जनाएको हो । एक प्रहरीका अनुसार अपराधी प्रवेश तथा अपराधि उप्रद मुद्दा प्रमाणित भएको खण्डमा क्षतिपूर्तिसहित १ वर्षदेखि ३ वर्षसम्म जेल सजाय हुने व्यवस्था छ ।
प्रहरी स्रोतका अनुसार जनमत पार्टीका धनुषा अध्यक्ष ओमविक्रम कुश्वाहा, पार्टीका सर्लाही जिल्ला सदस्य संजय कुमार सिंह, सिरहा जिल्ला सदस्य सौदी मण्डल,सिरहा जिल्ला सदस्य दुर्योधन यादव, सोही जिल्लाका सक्रिय सदस्य प्रेमकिशोर यादव, केन्द्रीय सदस्य वीरेन्द्र महतो उर्फ जीवन तयारी,विद्यार्थी जनमत संघका अध्यक्ष विजय यादव, धनुषा सबैला नगर संयोजक संजय प्रधानमाथि मुद्दा चलाइने भएको हो ।
त्यस्तै धनुषा जिल्ला सदस्य धनिक लाल कापर, कैलाशप्रसाद साह, विक्रमकुमार साह, विद्यार्थी नेता महेशकुमार यादव, सिरहाका पार्टी सदस्य रामकरण यादव, दलित संघ सिरहाका सदस्य दिनेश रजक साफी, पार्टीका सिरहा कल्याणपुर नगरपालिकाका वडा सचिव अमनाथ साह, महोत्तरी बलवा नगरपालिका अध्यक्ष संजयकुमार साह र धनुषा विदेह नगरपालिका पार्टी वडा सदस्य सुन्दर मण्डल रहेको प्रहरी स्रोतले जनाएको छ ।
दुई दिन भएको वर्षामा ढलबाट पानीको निकास हुन नसकेपछि जनमत पार्टीका कार्यकर्ताले गुण्डा शैलीमा कार्यालय प्रमुख कुशवाहालाई कालोमोसो तथा कुटपिट गर्दै नगर परिक्रमा गराएका थिए । लाठी, भाटासहित कार्यालय पुगेका कार्यकर्ताले प्रमुख कुशवाहालाई जबरजस्ती कार्यालयबाट तानेर बाहिर ल्याई कुटपीट गर्दै नगर परिक्रमा गराएका थिए । उनीहरूले कुशवाहाको कपडा च्यात्नुका साथै नालाको हिलो दलेर अर्धनग्न बनाएर कुटपिट गर्दै घुमाएको भिडियो हरु सार्वजनिक भएका थिए । मानव अधिकारकर्मीहरुले पनि यसको बिरोध गरेका छन् ।