बाढी-पहिरो पीडितलाई राहत र क्षतिपूर्ति दिने सरकारको निर्णय
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ३३९ पटक पढिएको
सरकारले अविरल वर्षाका कारण देशको विभिन्न क्षेत्रमा गएको बाढी, पहिरो पीडितहरूलाई उद्धार, राहत र क्षतिपूर्ति दिने निर्णय गरेको छ। बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकमा प्रधानमन्त्री देउवाले तत्काल उद्वार, राहत र पुनर्स्थापनाका लागि परिचालित हुन विपद् व्यवस्थापन परिषद्लाई निर्देशन दिएका छन् । त्यस्तै राहत र पुनर्स्थापनाका लागि बजेटको अभाव नहुने गरी व्यवस्था गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएका छन् । उनले ठूलो क्षति हुने गरी देशभर बाढी-पहिरो प्रभावित क्षेत्रमा तत्काल पुगेर क्षतिको विवरण आंकलन गर्ने र त्यसका आधारमा राहतको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।
त्यस्तै बैठकले पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख दिने निर्णय गरेको बताइएको छ । त्यस्तै घर निर्माण गर्न जग्गाको अभाव भएमा थप ३ लाख रुपैयाँ प्रदान गर्नेसमेत बताइएको छ ।