बैङ्कहरूले धमाधम ब्याजदर बढाए
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २५२ पटक पढिएको

आर्थिक वर्षको दोस्रो त्रैमास सुरु भएसँग बैङ्कहरूले धमाधम बचत तथा मुद्दतीको ब्याजदर बढाउन थालेका छन् । लामो अवधिका लागि स्रोत सुनिश्चित गर्न मुद्दतीमा ११ प्रतिशतभन्दा बढी ब्याजदर दिने घोषणा बैंकहरुले गरेका छन् । सोमबार बैङ्कहरूले सार्वजनिक गरेका सूचनाका आधारमा बैङ्कहरूले मुद्दतीको ब्याजदर बढाएर ११.६७ प्रतिशतसम्म पुर्याएका हुन् ।
बैङ्कहरूमा तरलताको अभाव हुन थालेपछि भएको बचतलाई आफ्नैमा राख्न र अन्य बैङ्कको बचत पनि आफ्नोतर्फ तान्न ब्याजदर बढाएका अनुमान गरिएको छ । पछिल्ला साता कर्जा प्रवाह निक्षेपभन्दा उच्च दरले बढेको थियो । जसले गर्दा लगानीयोग्य रकमको अभाव देखिएको बताइएको छ ।
बचतमा ब्याजदर बढेसँगै बैङ्कहरूले प्रवाह गर्ने ऋणको पनि ब्याजदर बढ्ने गर्छ । बैङ्कहरूले बचत खाताका लागि पनि चारदेखि ७.५ प्रतिशतसम्मको ब्याजदर घोषणा गरेको सूचना प्रकाशित गरेका छन् ।
असोजको सुरुआती तीन सातामा वाणिज्य बैंकहरुमा ८४ अर्ब निक्षेप थपिँदा १ खर्ब ११ अर्ब कर्जा प्रवाह भएको नेपाल बैंकर्स एसोसिएसनको तथ्यांक छ । असोज २२ गतेसम्म आउँदा वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब ५५ अर्ब पुगेको छ भने कुल कर्जा ३९ खर्ब ८३ अर्ब पुगेको छ ।
कुन बैंकले कति बढायो ब्याजदर ?
हिमालयन बैङ्क ११.६७
एनआईसी एसिया बैङ्क ११.१
नेपाल बङ्गलादेश बैङ्क १०.२८
माछापुच्छ्रे बैङ्क ९.८५
कुमारी बैङ्क १०.३१
सिभिल बैङ्क १०.६१
एनसीसी बैङ्कले १०.५५ प्रतिशत