आजदेखि टी–२० विश्वकप क्रिकेट सुरु
- वर्ल्ड दैनिक
- २ साल अघि
- २२९ पटक पढिएको
कोरोना महामारीका कारण सन् २०२० मा हुन नसकेको टी–२० विश्वकप क्रिकेट आजदेखि सुरु हुँदैछ । संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानमा हुने उक्त प्रतियोगिता २९ दिनसम्म चल्नेछ ।प्रतियोगितामा १६ टिम सहभागी हुने भए पनि पहिलो चरणमा ‘समूह ए’ र ‘समूह बी’ गरि ८ टिमले मात्र खेल्नेछन् ।
दुबै समूहका टिमले एकअपासमा खेल्नेछन् र समूहको शीर्ष दुई टोली सुपर १२ मा पुग्नेछन् । समूह ए अन्तर्गत आयरल्याण्ड, नामिबिया, नेदरल्याण्ड्स र श्रीलंका छन् भने समूह बी अन्तर्गत बंगलादेश, ओमान, पपुवा न्यूगिनी र स्कटल्याण्ड छन् ।
त्यस्तै सुपर १२ मा पनि दुई समूह हुने बताइएको छ । पहिलो समूहमा अष्ट्रेलिया, इंग्ल्याण्ड, दक्षिण अफ्रिका र वेष्ट इण्डिजका साथै समूह एको शीर्ष र समूह बीको दोस्रो टिम हुनेछ भने अर्को समूहमा भारत, पाकिस्तान, न्यूजिल्याण्ड र अफगानिस्तानका साथै समूह एको दोस्रो र समूह बीको शीर्ष टिम थप हुनेछ ।
यो राउण्डको खेल ६ कात्तिक (२३ अक्टोबर)देखि सुरु हुनेछ र २२ कात्तिक (८ नोभेम्बर) सम्म चल्नेछ । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । २४ र २५ कात्तिक (१०/११ नोभेम्बर)मा सेमिफाइनल खेल हुनेछ । फाइनल खेल भने २८ कात्तिक (१४ नोभेम्बर)मा हुने छ ।
विजेताले १६ लाख डलर पाउनेछ भने उपविजेताले ८ लाख पाउने छ । त्यस्तै सेमिफाइनलमा पुग्ने हरेक टोलीले ४/४ लाख पाउने र सुपर १६ मा प्रत्येक खेल जित्दा बोनस पनि पाउने बताएको छ ।