साफले प्रतिबन्ध लगाएकोमा प्रशिक्षक अलमुताइरी असन्तुष्ट

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १७६ पटक पढिएको

साफ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई पनि प्रतिबन्ध लगाइएको छ ।

प्रशिक्षक अल्मुतारीलाई फाइनल खेलमा प्रतिबन्ध लगाइएको जानकारीसहितको पत्र साफले एन्फालाई दिएको हो ।

यसमा प्रशिक्षक अलमुताइरीले असन्तुष्टि जनाउँदै सो पत्र नियमविपरीत र अन्यायपूर्ण भएको बताएका छन् । उनले शनिबार बिहान भर्चुअल पत्रकार सम्मेलन गर्दै यो निर्णय भारतले खेल जितोस् भन्ने चाहनाबाट प्रेरित भएको समेत बताएका छन् ।

फाइनलमा अब्दुल्लाह अलमुताइरी नभए पनि नेपाली टोलीले नतिजाको लागि प्रतिस्पर्धा गर्ने उनको भनाइ छ ।

साफको नियमावलीमा रातो कार्ड पाएमा मात्र अफिसियलले अर्को खेल गुमाउने उल्लेख भए पनि लिग चरणमा श्रीलंका र अन्तिम खेलमा बंगलादेशविरुद्ध पहेंलो कार्ड पाएका अलमुताइरीलाई आज हुन लागेको फाइनल खेलमा प्रतिबन्ध लगाएको हो ।

यस अघि भारतका प्रशिक्षक स्टिमाचले भने  बंगलादेशविरुद्धको खेलमा रातो कार्ड पाए संगै फाइनल खेल गुमाइसकेका थिए ।

त्यस्तै नेपालका अन्जन विष्टले पनि लगातार दुई खेलमा पहेंलो कार्ड पाएकाले भारतविरुद्धको फाइनल खेल गुमाउने पहिलेनै पक्का भैसकेको थियो । 

अलमुताइरी प्रशिक्षक हुँदा नेपाल साफ च्याम्पियनसिपको इतिहासमै पहिलो पटक फाइनलमा पुगेका थिए । बंगलादेशलाई बराबरीमा रोक्दै फाइनलमा पुगेर नेपालले इतिहास रचेको थियो ।

साफ च्याम्पियनसिपको बलियो टोली भारत र नेपालबीचको फाइनल खेल आज राति पौने नौ बजे मालदिभ्सको राजधानी मालेमा हुँदैछ । दुवै देशको प्रशिक्षकबिना हुन लागेको फाइनल खेल सम्पूर्ण फुटबल प्रेमीहरुका लागि रोचक हुने अनुमान गरेपनि नेपालीको लागि भने खल्लोनै हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित