केरलामा श्रीमतीलाई मारेको आरोपमा श्रीमानलाई दोब्बर जन्मकैदको सजाय
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १५४ पटक पढिएको
भारतको केरला राज्यमा एक पुरुषलाई अदालतले दोब्बर जन्मकैदको सजाय सुनाएको छ । उनलाई कोब्रा प्रयोग गरी आफ्नी श्रीमतीलाई मारेको आरोपमा केरला अदालतले दोब्बर जन्मकैदको सजाय सुनाएको हो ।
अदालतले सो सजायलाई सबैभन्दा दुर्लभ अपराधको सजाय भएको समेत बताएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएको छ ।
सन् २०२० मा केरलाका २८ वर्षीय सुरज कुमारले २५ वर्षीया श्रीमती उथराको कोब्रा प्रजातीको सर्प र सन्हाई प्रयोग गरी हत्या गरेका थिए । बिरामी उथरा करिब २ महिना लामो उपचारपछि माइतीमा बस्दै आएकी थिइन् । श्रीमतीलाई घर बोलाउन भन्दै ससुराली गएका उनले चाँडै निको हुने भन्दै सन्हाइ र कोब्रा सर्प सुतिरहेकी उथराको शरीरमा फ्याकेका थिए ।
सो घटनापछि माइती पक्षले दिएको उजुरीको आधारमा सुरजलाई प्रहरीले उनकै घरबाट पक्राउ गरी अनुसन्धान थालेको थियो ।
सोमबार केरलाको कोलाम अदालतले सुरजले पटक पटक श्रीमतीलाई मार्न खोजेको पुष्टि गरेको थियो । उथराको मृत्युपछि दाइजोबाट प्राप्त सम्पती आफ्नो नाममा गर्ने लोभले पटकपटक श्रीमतीको हत्या गर्न खोजेको र अन्तिममा कोब्रा प्रयोग गरी श्रीमतीको हत्या गरेको उनले स्वीकारेको प्रहरीले जनाएको छ ।