नवरात्रिको आज नवौं दिन, विधिपूर्वक पूजा आराधना गरिँदै
- वर्ल्ड दैनिक
- २ साल अघि
- ६४० पटक पढिएको
नवरात्रिको नवौं दिन दसैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौं देवी अर्थात् सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल नवमीअर्थात् दुर्गा पक्षको नवौं दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक परम्परा छ।
देवीका नौ नाम ब्रह्माजीले मार्कण्डेय ऋषिलाई बताएका पौराणिक कथन छ। नवरात्रिका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ।
यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्। नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। यसरी १५ दिनसम्म नेपालीले दसैं पर्व मनाउँछन्।