रूबीलाई अदालत उपस्थित गराउन सर्वोच्चले फेरी जारी गर्यो आदेश
- वर्ल्ड दैनिक
- २ साल अघि
- २३१ पटक पढिएको
सर्वोच्च अदालतले न्यायका लागि नेपालगन्जदेखि काठमान्डूसम्म पैदल यात्रा गरेकी रूबी खानलाई बिहीबार ११ बजेभित्र अदालत उपस्थित गराउन आदेश जारी गरेको छ ।
अधिवक्ता मोहना अन्सारीले रूबीका तर्फबाट दिएको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले मंगलबार यस्तो आदेश गरेको हो ।
यसअघि पनि सर्वोच्चले २४ घन्टाभित्र रुबीलाई उपस्थित गराउन काठमान्डू प्रहरीलाई आदेश दिएको थियो । तर प्रहरीले भने आफूलाई केही थाहा नभएको र उनलाई पक्राउ पनि नगरिएको जवाफ दिएको थियो । त्यसपछि अधिवक्ता अन्सारीले बन्दी प्रत्यक्षीकरण रिट दिएकी हुन् ।
यो मुद्दा सुनुवाइ नभएसम्म रुबीलाई जिल्ला प्रहरी कार्यालय, बाँकेको हिरासतबाट अदालतमा उपस्थित गराउनेबाहेक अन्य प्रयोजनका लागि स्थानान्तरण नगर्न पनि सर्वोच्चले आदेश गरेको छ । घरेलु हिंसाका कारण ज्यान गुमाएका बाँकेका नकुन्नी धोबी र निर्मला कुर्मीको निम्ति न्याय माग्दै रूबी सहित करिब १४ जनाको टोली नेपालगन्जबाट काठमान्डूसम्म पैदल यात्रा गरि आएका थिए ।
त्यस पछि उनीहरू माइतीघर मण्डलामा धर्ना बसेका थिए । गत शुक्रबार राति धर्नास्थलमा प्रहरीले उनीहरुलाई जबर्जस्ती पक्राउ गरेको थियो । त्यसको भोलिपल्ट टोलीकी अगुवा रुबीलाई नेपालगन्ज फिर्ता पठाइएको थियो । भने अन्य अधिकारकर्मी अहिले पनि धर्नामै छन् ।