रुपन्देही झडप : चार जना को मृत्यु
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २६१ पटक पढिएको
रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार भएको सुकुम्बासी समूह र प्रहरीबीच झडपमा परेर घाइते भएका चार जनाको मृत्यु भएको छ । गोली लागेर घाइते भएकामध्ये चार जनाको मृत्यु भएको भैरहवाको युनिभर्सल मेडिकल कलेजले जानकारी दिएको हो ।
प्रहरीले पनि तीन जनाको मृत्यु भएको पुष्टि गरेको छ । गृहमन्त्रालयका अनुसार झडपका क्रममा दर्जनौ घाइते भएका थिए । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले औद्योगिक क्षेत्रमा झडप भए पछि आज ४ बजेदेखि कर्फ्यू समेत लगाएको छ । सुरक्षा व्यवस्था कडा बनाए पनि स्थिति नियन्त्रणभन्दा बाहिर जानसक्ने जोखिम बढेको भन्दै प्रशासनले आइतबार दिउँसो ४ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यू जारी गरेको हो ।
प्रशासनले अतिक्रमण भएको औद्योगिक क्षेत्रको जग्गाबाट सुकुम्बासीलाई हटाउन खोज्दा तनावको स्थिति सिर्जना भएको थियो । औधोगिक क्षेत्रमा टहरा बनाएर बसेकाहरु दुई हजार स्थानीय प्रदर्शनमा उत्रिएका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर, अश्रुग्यास र गोलि सम्म प्रहार गरेको थियो।
रुपन्देहीको बुटवल र आसपासका स्थानीय तह जोडेर २०७२ सालमा सरकारले औधोगिक क्षेत्र घोषणा गरेको थियो ।