थुनुवाको मृत्यु भएपछि सुनसरी परिसर तनावग्रस्त
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २६१ पटक पढिएको

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरी परिसर तनावग्रस्त बनेको छ ।पीडितका आफन्तत र ठूलो संख्याको भिडले प्रहरीमाथि आक्रमण थालेपछि दोहोरो झडप भएको हो ।
झडपमा ढुंगामुढापश्चात् प्रहरीले प्रदर्शनकारीलाई लक्षित अश्रुग्याससमेत प्रहार गरेका थिए । प्रदर्शनकारीले पूर्वपश्चिम राजमार्गसमेत अवरुद्ध पारेका छन्।
झडपका क्रममा प्रहरी कार्यालय र परिसरका संरचनामा समेत क्षति पुगेको बताईएको छ । इनरुवा बजार क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
अभद्र व्यवहार मुद्दामा पक्राउ परेका मोहम्मद हकिम साह अनुसन्धानको क्रममा थुनामा थिए । उनले आत्महत्या गरेको प्रहरीको भनाइ छ । प्रदर्शनकारीले भने प्रहरीले सुनियोजित रूपले थुनामा रहेका व्यक्तिको हत्या गरेको भन्दै लास नबुझ्ने बताएका छन्।
प्रहरीले मृतकका आफन्तसँग वार्ताको तयारी गरेको छ । वार्तापछि मात्र मृतकको शव उठाएर पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजाने बताईएको छ ।