यस वर्षको मनसुन : १३६ जनाको मृत्यु, ४५ जना बेपत्ता
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १९१ पटक पढिएको

यो वर्ष मनसुनजन्य घटनाबाट मुलुकभर १३६ व्यक्तिको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार अहिले पनि ४५ जना बेपत्ता छन् भने १४४ घाइते भएका छन् ।
त्यस्तै कूल ८४५ घर पूर्ण र १६९ घरमा आंशिक क्षति पुगेको छ । यस वर्ष सबैभन्दा बढी सिन्धुपाल्चोक जिल्ला प्रभावित भएको छ । उक्त जिल्लामा मनसुनको अवधिमा पाँच जनाको मृत्यु भएको छ भने २० बेपत्ता छन् ।
त्यसैगरि भौतिक क्षतिका हिसाबले मनाङ जिल्लामा समेत ठूलो असर गरेको छ । यसपालि मनसुनजन्य घटनाबाट ७१ जिल्ला प्रभावित भएको छ ।
मनसुन बाहिरिन थाले
ठूलो जनधनको क्षति गराउँदै नेपालबाट मनसुन बाहिरिन थालेको छ । मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ भए पनि शुक्रबार (अक्टोबर ८) देखि नेपालको पश्चिम क्षेत्रबाट मनसुन बाहिरिन थालेको हो ।
नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशमा पूर्ण र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागबाट मनसुन बहिर्गमन भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको अनुसार अब ठूलो वर्षाको सम्भावना भने कम छ ।