अफ्रिकामा मलेरिया विरुद्दको खोप
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २०७ पटक पढिएको

धेरैजसो अफ्रिकी भूभागमा बालबालिकालाई एक शताब्दीको प्रयासपछि तयार भएको मलेरिया रोग विरुद्धको खोप दिन लागिएको छ । चिकित्सा क्षेत्रकै ठूलामध्येको उपलब्धि मानिएको यो खोपको विकासलाई मलेरियाविरुद्ध लड्ने ऐतिहासिक अभियानमा ठूलो फड्कोको रुपमा हेरिएको छ ।
डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयससले यसलाई ‘एउटा ऐतिहासिक क्षण’ भनेका छन् ।
परीक्षणका रूपमा घाना, केन्या र मलावीमा वितरण गरिएपछि विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले अब त्यसलाई सब सहारा अफ्रिका र मध्यमदेखि उच्च प्रकोप भएका अन्य क्षेत्रमा वितरण गरिने जनाएको छ। ती तीन देशमा आठ लाख बालबालिकामा गरिएको मानव परीक्षणमा यस खोपले गम्भीर भएर अस्पताल भर्ना हुने दरलाई ३० प्रतिशतले कमी ल्याएको बताईएको छ ।
यस खोपले प्रत्येक १० जनामध्ये ४ जनालाई मलेरिया रोग लाग्नबाट जोगाउने र प्रत्येक १० जनामध्ये ३ जनालाई गम्भीर अवस्थामा पुग्नबाट बचाउने बताइएको छ ।
आरटीएस, एस भनिने खोप ६ वर्षअघि प्रभावकारी प्रमाणित भएको थियो । यसले प्रभावकारी रूपमा काम गर्न चारवटा मात्रा लगाउनुपर्छ । पहिलो तीन मात्रा एक-एक महिनाको फरकमा पाँच, छ र सात महिनाका शिशुलाई दिइन्छ भने अन्तिम बुस्टर मात्रा १८ महिना आसपासमा आवश्यक पर्नेछ।
खासगरी बालबालिका र शिशुहरूको ज्यान लिने मलेरिया हजारौँ वर्षदेखि मानवताका लागि एउटा ठूलो सङ्कटको रूपमा छ । लामखुट्टेबाट फैलने यस रोगले विश्वभर बर्सेनि झण्डै चार लाख मानिसहरूको ज्यान लिनेगर्छ ।
तस्बिर: डब्लुएचओ