मस्तिष्कमा गरिने प्रत्यारोपणले डिप्रेसनको उपचारमा फाइदा पुग्ने वैज्ञानिकहरूको विश्वास

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २०० पटक पढिएको

 

विद्युतीय प्रत्यारोपणले मानिसको डिप्रेसन पत्ता लगाउन र त्यसको उपचार गर्न सकिने अमेरिकी वैज्ञानिकहरूले बताएका छन् । पहिलो बिरामीको टाउकोमा प्रत्यारोपण परीक्षणपछि वैज्ञानिकहरूले त्यस्तो विश्वास व्यक्त गरेका हुन् ।

एक वर्षअघि त्यस्तो उपकरण जडान गरिएकी ३६ वर्षीया साराले आफ्नो जीवन पूरै परिवर्तन भएको बताएकी छन्। उनको टाउकोमा राखिएको सलाईको बट्टाजस्तो उपकरण सधैँ "अन" हुन्छ तर उनलाई आवश्यकता परेको अवस्थामा मात्रै त्यसले संवेग प्रदान गर्छ । यो प्रयोगात्मक अध्ययन नेचर मेडिकल जर्नलमा प्रकाशित गरेको बिबिसीले जनाएको छ ।

यस्तो प्रयोगात्मक उपचार गरिएकी सारा पहिलो व्यक्ति हुन् । शल्यक्रिया कठिन सुनिए पनि आफूले अनुभव गरेको अन्धकारभन्दा यसले दिने राहतको सम्भावना उचित हुने साराले बिबिसीलाई बताइन् । 

शल्यक्रिया गर्न उनको मस्तिष्कलाई निगरानी गर्ने तारहरू जडान गर्नको लागि खप्परमा साना प्वालहरू पार्नुपरेको बताईएको छ । यो कामका लागि एक दिन लागेको र सारालाई बेहोश बनाएर शल्यक्रिया गरिएको समेत उल्लेख गरेको छ । त्यस्तै ब्याट्री र संवेग उत्पादन गर्ने यन्त्र भएको एउटा बक्सलाई उनको मस्तिष्क नजिकै हड्डीमा राखिएको छ ।

अनुसन्धानकर्ता डा. क्याथरिन स्क्यानगसले साराको मस्तिष्कमा डिप्रेसनको प्रवृत्ति पत्ता लगाएर यो नयाँ प्रयोग गर्न सकिएको बताएकी छिन् । विश्वविद्यालयमा मनोचिकित्सकसमेत रहेकी स्क्यानगसले बताएकी छिन्, "हामीले त्यस्तो ठाउँ फेला पार्यौं जहाँ निरन्तर आवेगहरू उत्पन्न हुँदा त्यसले डिप्रेसनको भावना हटाउँछ।"

सान फ्रान्सिस्कोस्थित क्यालिफोर्निया विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले अन्य बिरामीलाई यसले मद्दत गर्छ कि गर्दैन भन्न थाहा पाउन गर्न थप परीक्षणहरू गर्नुपर्ने बताएका छन् ।

 

तस्बिर: मौरिस रेमिरेज़ , युएससीएफ २०२१

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित