‘नेपालीस्याट-१’ वायुमण्डलमा खस्यो
- वर्ल्ड दैनिक
- २ साल अघि
- २७६ पटक पढिएको
‘नेपालीस्याट-१’ नामक भू-उपग्रह अन्तरिक्षमा ८४१ दिन पछि वायुमण्डलमा खसेको छ । विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्रविधि विभागले जापानी समय अनुसार सोमबार १० बजेर ४१ मिनेट अर्थात नेपाली समय दिउँसो ४ बजेर २६ मिनेटमा खसेको जनाएको हो ।
विभागका अनुसार नेपाली स्याट-१सँगै अन्तरिक्षमा छाडिएको श्रीलंकाको राभाना-१ भू-उपग्रह पनि खसेको थियो । नेपालीस्याट-१ ले देशका विभिन्न स्थानको तस्वीर सङ्कलन तथा हिमाल, पहाड, तराई, वन, पाखा हिमनदी, सडक र बाढीका बारेमा सूचना संकलन गर्ने उद्देश्यले पठाइएको थियो ।
जापानको क्युटेक विश्वविद्यालयसँगको सहकार्यमा नास्टका तर्फबाट नेपाली इन्जिनियरद्वय आभाष मास्के र हरिराम श्रेष्ठले यसको निर्माण गरेका थिए । ‘नेपालीस्याट-१’ नाम दिइएको उक्त स्याटालाइट नयाँ वर्षको अवसर पारेर २०७६ वैशाख ५ गते बिहीबार अमेरिकाको भर्जिनियामा अवस्थित वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको थियो । दुई महिनासम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा रहेर असार २ मा पृथ्वीको तल्लो कक्षमा यी स्याटेलाइट छाडिएका थिए ।
नेपाली स्याटेलाइट युरोपको आकाशमै खसेको स्याटेलाइटको अवस्थिति बताउने वेबसाइट स्याटभ्यु डट ओआरजीले जनाएको छ । यी स्याटेलाइटले करिब ४ सय १० मिटरको उचाइबाट पृथ्वीलाई दैनिक १६ पटकसम्म फन्को लगाउथे । अब अन्तरिक्षमा नेपालको झन्डा अंकित कुनै पनि वस्तु छैन । ८ सय ४१ दिन अन्तरिक्षमा रहँदा नेपाली स्याटेलाइटले ९५ वटा तस्बिर लिएको बताईएको छ ।
तस्बिर : नासा अन्तरिक्ष यात्री निक हेगको फेसबुकबाट