सिभिल ग्रुपका अध्यक्ष पक्राउ
- वर्ल्ड दैनिक
- २ साल अघि
- ३३६ पटक पढिएको
केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सिभिल ग्रुप, सिभिल सहकारी तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङसहित एक दर्जनलाई पक्राउ गरेको छ। सोमबार तामाङसहितलाई पक्राउ गरेको हो ।
सुन्धारा क्षेत्रबाट प्रक्राउ गरेको उनीहरुलाई ठगी उजुरी परेको प्रहरीले जनाएको छ । उनीहरूविरूद्ध निक्षेपकर्ताहरूले ब्युरोमा जाहेरी दिएको र सहकारीमा आफूखुसी ऋण प्रवाह गरेको ब्युरोले जनाएको छ । उनलाई हालसम्म ४६ करोड रुपैयाँ ठगीको निवेदन परेको ब्युरोले जनाएको हो ।
आठ अर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह भएकामा सिभिल ग्रुपका संस्थापक तामाङको रियल स्टेट व्यवसायमा सबै रकम लगानी रहेको बताइएको छ । ७० जना निक्षेपकर्ताले तामाङसहितको समूहले ठगी गरेको उजुरी दिएका बताएका छन् ।
ब्युरोको अनुसार उनीविरूद्ध सहकारी विभागमा उजुरी परेको थियो । विभागले सिआइबीलाई कारबाही गर्न पत्र पठाएपछि पक्राउ गरिएको ब्युरोले जनाएको छ । ३१ करोड २४ लाख ५७ हजार ९ सय रुपैयाँ शेयर पुँजी रहेको सिभिलले ८ अर्ब ३५ करोड १० लाख ८ हजार रुपैयाँभन्दा धेरै कर्जा लगानी गरेको छ । तामाङ संविधान सभामा एमालेका तर्फबाट सभासद पनि थिए ।