परीक्षणमा रहेको कोभिडको पहिलो खाने चक्की
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १५४ पटक पढिएको
परीक्षणमा रहेको एउटा खाने औषधीले कोभिडको गम्भीर प्रभाव आधाले घटाउने अन्तरिम क्लिनिकल परिणामले देखाएको छ । अमेरिकी औषधी उत्पादक कम्पनी ‘मर्क’ले परीक्षण परिणाम अत्यन्त सकारात्मक भएकाले बाह्य अनुगमनकर्ताहरूले परीक्षणकाल छोट्याउन अनुरोध गरेको जनाएको हो ।
अमेरिकी खाद्य तथा औषधी नियामक निकाय एफडीएले समीक्षा नगरेसम्म सावधानी अपनाउन आग्रह गर्दै मर्कले अबको दुई हप्तामा आपत्कालीन प्रयोगका लागि अनुमति दिन निवेदन दिने बीबीसीले जनाएको छ ।
यदि नियामकहरूले अनुमति दिए भने मोल्नुपिरभिर कोभिड १९ का लागि पहिलो एन्टिभाइरल खाने औषधी बन्नेछ । शुरूमा इन्फ्लुएन्जा उपचारका लागि विकास गरिएको यो औषधीले भाइरसको जेनेटिक कोडमा परिवर्तन ल्याइदिने गरी डिजाइन गरिएको बताएको छ । जसले भाइरस शरीरमा फैलनबाट रोक्छ ।
कोभिड खोपमा भाइरसको बाहिर रहेको चुच्चो प्रोटिनलाई निशाना बनाइन्छ भने खाने चक्कीमा भाइरसले सङ्ख्या बढाउने इन्जाइमलाई नै निशाना बनाएको हुन्छ । यूकेमा एमएसडी नामले चिनिने मर्क कम्पनीले भविष्यमा उत्पत्ति हुने नयाँ भेरिअन्ट विरुद्ध पनि यो चक्की उत्तिकै प्रभावकारी हुने बताएको बिबिसीले उल्लेख गरेको छ ।
मर्क कोभिड विरुद्धको खाने चक्कीको परीक्षण परिणाम सार्वजनिक गर्ने पहिलो कम्पनी हो। अरू कम्पनीहरू पनि खानेचक्कीबारे परीक्षण गरिरहेका छन्।