एक्वडोरको कारागारमा ११६ जना कैदी बन्दीको मृत्यु
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १४७ पटक पढिएको

ल्याटिन अमेरिकी देश एक्वडोरको कारागारमा ११६ जना कैदी बन्दीको मृत्यु भएको छ । राष्ट्रपति गीएर्मो लास्सोले मङ्गलबार भएको उक्त हिंसात्मक घटनामा कम्तीमा एकसय सोह्र जना बन्दीको मृत्यु भएको थाहा भएको पुष्टी गरेका हुन् ।
त्यस घटनालाई हालसम्मकै अप्रिय घटना मानिएको बिबिसीले जनाएको छ । बन्दरगाह शहर ग्वाइआकीलस्थित उक्त जेलमा त्यहाँ रहेका बन्दीहरूको दुई समूहबीच झडप भएको थियो । बिबिसीका अनुसार कम्तीमा पाँच जना बन्दीको टाउको काटिएको र अन्यको गोली प्रहार गरेर हत्या गरिएको थियो । भिडन्तमा बन्दुक, राइफल र ह्याण्ड ग्रेनेड जस्ता हतियारको प्रयोग भएको बताइएको छ।
स्थिति नियन्त्रणमा लिन ४०० प्रहरी अधिकारी परिचालन गर्नुपरेको बताईएको छ । त्यस जेलमा विश्वव्यापी सञ्जाल रहेको एउटा लागु औषध गिरोहका सदस्यहरूलाई समेत राखिएको जनाएको छ । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार कारागारभित्र त्यस्तो गराउनका लागि शक्तिशाली मेक्सिकन लागुऔषध तस्करहरूको गिरोहले निर्देशन दिएको थियो ।
घटनमा ५० भन्दा बढी कैदीहरू घाइते पनि भएका छन् । राष्ट्रपति लास्सोले देशभरका कारागारहरूमा आपतकालिन अवस्थाको घोषणा गरेका समेत गरिसकेका छन् ।
तस्बिर: एएफपी