काठमाडौँ उपत्यकामा ५० % नागरिकहरुमा पूर्ण मात्रा खोप
- वर्ल्ड दैनिक
- २ साल अघि
- ४१५ पटक पढिएको
काठमाडौँ उपत्यकामा करिब ५० प्रतिशत नागरिकहरुले कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ, ललितपुर र भक्तपुरका खोप लगाउन लक्षित करिब ५० प्रतिशत नागरिकलाई पूर्ण मात्राको खोप लगाइएको जनाएको हो।
स्वास्थ्य सेवा विभागका अनुसार काठमाडौँ उपत्यकाका ५० प्रतिशतले पहिलो मात्रा र ४८ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् । उपत्यकामा पहिलो मात्रा १६ लाख २२ हजार ४४१ र पूर्ण मात्रा १५ लाख ६२ हजार ७३४ जनालाई लगाइसकिएको छ। काठमाडौँ उपत्यकाका ३२ लाख ४७ लाख ५५८ जनसङ्ख्यामध्ये १८ वर्ष माथिका २१ लाख २९ हजार ७७३ जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य राखिएको विभागले जनाएको छ।
त्यस्तै ललितपुरमा ४९.७ प्रतिशत पहिलो मात्रा र ४५.४ प्रतिशत पूर्ण मात्रा तथा भक्तपुरमा ४१ प्रतिशत पहिलो मात्रा र ४९ प्रतिशत पूर्ण मात्रा खोप लगाइसकेका छन् । ललितपुरमा तीन लाख ८२ हजार ८६० जना र भक्तपुरमा दुई लाख ४६ हजार ८५१ जना खोप लगाउने लक्षित जनसङ्ख्या हो ।
त्यसपछि सबैभन्दा बढी खोप वाग्मती प्रदेशमा लगाइएको छ । यस प्रदेशमा पहिलो मात्रा ३८.२ प्रतिशत र पूर्ण मात्रा ३५.३ प्रतिशतले खोप लगाइसकेका छन्।
खोप कार्यक्रमलाई प्रभावकारी बनाउन जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँले जिल्लाका १४५ खोप केन्द्रबाट कोरोना विरुद्धको खोप प्रदान गर्दै आइरहेको छ। अहिले काठमाडौँ उपत्यकामा ४० वर्षमाथिका सबै र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीले ती खोप केन्द्रबाट खोप लगाइरहेका छन्।
सेप्टेम्बर महिनामा कोरोना भाइरसको सङ्क्रमण दर ८.३ प्रतिशत मात्र रहेको स्वास्थ्य मन्त्रालय जनाईरहेको छ। मन्त्रालयका अनुसार अघिल्लो अगष्ट महिनामा कूल परीक्षण गरिएकामध्ये १३.६ प्रतिशत रहेको थियो ।
मन्त्रालयले अहिलेसम्म एक करोड २९ लाख ५८ हजार ५०८ ले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको जनाएका छन् ।