विश्व मुटु दिवस !
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ५२८ पटक पढिएको
आज विश्व मुटु दिवस ‘मन लगाऔं, सम्पर्क बढाऔं, मुटु बचाऔं’ भन्ने नाराका साथ् विभिन्न कार्यक्रम गरि मनाईदै छ। हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाईन्छ । सन् २०१२ मा विश्वभरिका स्वास्थ्य संगठन र सरकार प्रमुखहरू मिलेर सन् २०२५ सम्म विश्वभरिनै नसर्ने रोगहरूलाई २५ प्रतिशतले कम गर्ने साझा सहमति गरेका थिए ।

पछिल्लो दुई दशकमा देशभर मुटुरोगका बिरामीको सङ्ख्या तीन गुणाले बढेको तथ्यांकहरु सार्वजनिक भैरहेका छन् । विश्व स्वास्थ्य सङ्गठनका(डब्लुएचओ) अनुसार विश्वमा हरेक वर्ष एक करोड ४६ लाख मानिसको मृत्यु मुटुरोगबाट हुने गरेको छ ।
चिकित्सकहरुका अनुसार उच्च रक्तचाप, मधुमेह र कोलेस्टेरोलको समस्याले गर्दानै मुटु रोग हुन्छ । जसका कारण नेपालमा मात्र बर्सेनि ३० हजार व्यक्तिको मुटुरोगबाट मृत्यु हुने गरेको छ । नेपालमा १८ वर्षमाथिका ३५ प्र्रतिशत मानिस उच्च रक्तचाप र १८ वर्षमाथिका २५ प्रतिशतमा उच्च कोलस्टेरोलको समस्या छ ।
त्यसै गरि डब्लुएचओका अनुसार नेपालमा कुल जनसङ्ख्याको २५ प्रतिशत मुटुसम्बन्धी कुनै न कुनै रोगले ग्रसित रहेका छन् । यस्तै ९० प्रतिशत मानिस मुटु रोग लाग्ने जोखिममा छन् । मानिसको जीवनशैली, खानपानले गर्दा मुटु रोगको समस्या बढिरहेको चिकित्सकहरुको भनाई छ ।
चुरोट, सुर्ती, मदिरापान, चिल्लो खानेकुरा मुटु रोगका प्रमुख तìव रहेको र यसबाहेक मानिसले व्यायाम नगर्ने, आफूलाई अल्छी बनाउनाले पनि मुटु रोगको जोखिम बढाउने चिकित्सकहरुको निष्कर्स छ।
मुटु
मुटु मानव लगायत ढाड भएका प्राणीहरूको शरीरको एउटा सानो पम्पजस्तो अङ्ग हो । यसको शरीरको रक्त सञ्चालन प्रक्रियासँग सिधा सम्बन्ध हुन्छ । यसले हाम्रो छातीमा जन्मदेखि मरणसम्म रगतको चाप हरेक धमनी अनि कोशिकाहरूमा पठाइरहन्छ ।
एक साधारण र स्वस्थ मानिसको मुटुको धड्कन प्रतिमिनेट ६० देखि १०० सम्म चल्नुपर्ने हुन्छ । त्यो भन्दा बढी वा घटी कुनै पनि व्यक्तिको मुटु धड्किन्छ भने उक्त व्यक्तिलाई अस्वस्थ मानिन्छ ।
हृदयाघात
मुटु रोगका कारण हृदयाघात हुने सम्भावना बढी हुन्छ । हृदयाघात हुँदा सामान्यतया छातीमा असजिलो हुने, रक्तचाप बढ्ने, पूरा छाती भारी भएको महसुस हुने, छाती दुख्ने, पाखुरा वा छातीको करङको तल्लो भाग दुख्ने लक्षण देखा पर्ने चिकित्सकहरुको भनाई छ । त्यसै गरि पिठ्यूँ, बङ्गारा, गर्धन अथवा हाततिर वा समग्रमा सबैतिर दुख्ने, अपच हुने, श्वास फेर्न गाह्रो भएको महसुस हुने, चिटचिट पसिना आउने, वाकवाकी लाग्ने, बान्ता हुने, झुम्म लागेजस्तो हुने, कमजोरी हुने, बेचैनी हुने, स्वाँ स्वाँ बढ्ने र मुटुको धड्कन छिटोछिटो बढ्ने वा अनियमित हुने जस्ता लक्षण पनि देखा पर्न सक्छन्।
हृदयाघातको अवस्थामा तत्काल उपचार भएमा रक्तनलीहरू आफ्नो पुरानै अवस्थामा फर्किने सम्भावना रहने चिकित्सकहरुको सल्लाह छ।