बुद्धनगरको "रक्तदान चोक"
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ३९५ पटक पढिएको

विगत २६ वर्षदेखि रक्तदान कार्यक्रम गर्दै आएको बुद्धनगरको गंगादेवी चुचोल टोल सुधार समितिले आफ्नो चोकको नाम ”रक्तदान चोक” राखेको छ । गत असोज ९ गते शनिबार काठमाण्डूको मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यमा आयोजना गरिएको एक समारोहमा उक्त चोकको नामाकरण गरिएको हो ।
यस क्षेत्रमा वि सं २०५२ साल देखि रक्तदान शुरु गरिएको संयोजक उमेश तण्डुकारले बताएका छन् । यस क्षेत्रमा निरन्तर रक्तदान कार्यक्रम हुने भएकालेनै यस क्षेत्रको नाम "रक्तदान चोक" रखिएको उनको भनाई छ । उनको भनाई अनुसार दान गरिएको रगत नेपाल रेडक्रस सोसाईटी र केन्द्रिय रक्त संचार सेवामा पुर्याइन्छ ।
हरेक ३-३ महिनामा रक्तदान कार्यक्रम हुने यस क्षेत्रमा अब देखि भने ४ महिनाको अन्तरमा उक्त कार्यक्रम हुने उनले बताएका छन् । समितिले महिनाको अन्तर राखे पनि रेडक्रस सोसाईटीले र अन्य कुनै पनि संस्थाले रगतको माग गरेमा कार्यक्रम संचालन गर्न सकिने उनले बताएका हुन् ।
चुचोल टोल सुधार समितिले आयोजना गरेको कार्यक्रममा कोभिड १९ पछि मात्र ३३२ जनाले रक्तदान गरेका छन् । यस क्षेत्रबाट रक्तदान गर्ने सम्बन्धित व्यक्तिहरुले कुनै पनि समयमा रगत चाहियो भने उनीहरुलाई तुरुन्त सेवा दिन आफु तत्पर रहेको उनको भनाई छ ।
उक्त समारोहमा पनि ५२ जनाले रक्तदान गरेका थिए । संयोजक तण्डुकारका अनुसार विगत २६ वर्षदेखि हाल सम्म करिब ५ हजार नागरिकले यस क्षेत्रमा रक्तदान गरेका छन् ।
बुद्धनगर विकास समितिको सचिव निर्मल राज भण्डारीको सडक दुर्घटनामा भएको मृत्युको वार्षिक पूण्यतिथि पारेर यस क्षेत्रमा रक्तदान शुरु गरिएको थियो ।