नेता भीम रावलद्वारा बैठक बहिष्कार

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २१८ पटक पढिएको

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति कार्यान्वयन नगर्ने मनसायमा छन् । आइतवार सम्पन्न भएको केन्द्रीय कमिटीको बैठकमा असन्तुष्ट नेताहरुले १० बुँदे कार्यान्वयनको विषय उठाउँदा ओलीले भने कुनै प्रतिक्रिया दिएनन् । आइतबारको केन्द्रीय कमिटीको बैठकमा १० बुँदे सहमतिको विषयमा छलफल गर्न नसकेको भन्दै ओलीले स्थायी कमिटीमा छलफल गर्नुपर्ने धारणा राखेका थिए । 

हिजोको केन्द्रीय कमिटीको बठैकमा सोमवार बस्ने स्थायी कमिटीको बैठकमा १० बुँदेबारे छलफल हुने  निर्णय तय भएको थियो । स्थायी कमिटीको  बैठक  बोलाउन ओलीले अस्वीकार गरेका छन् । पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले सोमबारको लागि स्थायी कमिटीको बैठक बेलाउने  बिषयमा छलफल भए पनि आज बैठक नबस्ने  जानकारी दिए । 

शुक्रवार देखि सुरु भएको केन्द्रीय कमिटीको बैठक आइतवार तीनवटा प्रस्तावहरु पारित गरेर सम्पन्न भएको थियो । बैठकमा १० बुँदे कार्यान्वयन हुनुपर्ने भन्दै असन्तुष्ट नेताहरु भीम रावल, घनश्याम भुसाल, युवराज ज्ञवाली लगायतले  आफ्नो धारणा राखेका थिए । भुसालले ओलीले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा लिखित रुपमै फरक मत राखेका थिए । तर ओलीले भने आइतवारको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै विवादमा अल्झन नहुने र असोज १५–१७ सम्म हुने महाधिवेशनमा केन्द्रित हुन नेताहरुलाई निर्देशन दिएका थिए । अध्यक्ष ओलीले १० बुँदे सहमतिलाई कार्यन्वयन गर्न अटेरी गरेपछि नेता भीम रावल बैठक बहिष्कार गरेरे बाहिरिएका थिए । 

खासगरि सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर २ मा १० बुँदे सहमति कार्यान्वयन भएको छैन । २०७५ जेठ २ गतेको कमिटीका आधारमा एमालेको सुदूरपश्चिम प्रदेशको इञ्चार्जको जिम्मेवारी रावलले पाउनु पर्ने हो तर पाएका छैनन् । हाल सुदूरपश्चिम प्रदेशको ईञ्चार्ज पूर्व माओवादीका नेता लेखराज भट्ट रहेका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित