४२ औँ विश्व पर्यटन दिवस

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३७० पटक पढिएको

हरेक वर्ष सेप्टेम्बर २७ तारिखमा मनाईने विश्व पर्यटन दिवस आज स्वास्थ्य मापदण्ड पालना गरि विभिन्न कार्यक्रम गरि मनाइएको छ । यसै अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना प्रदान गर्नुभएको छ । शुभकामना सन्देशमा देउवाले पर्यटकीय गन्तव्यको पहिचान, विकास र प्रवर्धनका माध्यमबाट आय तथा रोजगारी सृजना गरी लाभको वितरण स्थानीय समुदायसम्म पु¥याउन सके आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन् ।

सरकारले आर्थिक वृद्धि र विकासका लागि पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न कार्यक्रम कार्यान्वयन गर्दै आएको पनि उनको भनाई छ । नेपालको पर्यटन क्षेत्रको विकास र प्रवर्दधनमा निजी क्षेत्रको प्रयास प्रशंसनीय रहेको उल्लेख गर्दै यस क्षेत्रको पूर्वाधार विकास र नयाँ गन्तव्यको पहिचानका लागि सरकार सहुलियत दिन, सहजीकरण र सहकार्य गर्न तयार रहेको बताएका छन् । अन्तर्राष्ट्रियस्तरमा द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय मञ्चमार्फत् पर्यटन प्रवर्धन र सहकार्यका प्रयास पनि हुँदै आएको पनि शुभकामना सन्देशमा उल्लेख छ । 

दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय तथा सरोकार संस्थाले विभिन्न कार्यक्रम गरी मनाएको छ । नेपाल पर्वतारोहण सङ्घले पनि दिवसको अवसर पारेर  नागपोखरीस्थित आफ्नो नवनिर्मित भवनको उद्घाटन तथा अन्तरक्रिया कार्यक्रम गरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा सङ्घको भवन उद्घाटन भएको संस्थाले जनाएको छ ।

पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाको अध्यक्षतामा ४२ औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ । दिवसकै अवसरमा नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) ले रक्तादान कार्यक्रम पनि गरेको थियो । यस्तै दिवसको अवसर पारेर पर्यटन व्यवसायी र गण्डकी सरकारले विभिन्न देशका राजदूत र विदेशी निकायका प्रमुखलाई कास्कीको नौडाडादेखि पोखरासम्म पदयात्रा गराएको छ । 

“टुरिजम् फर इन्क्लुसिभ ग्रोथ” भन्ने नारा सहित यो वर्षको पर्यटन दिवस सम्पन्न भएको छ । सरकारले खोपको मात्रा पूरा गरेका विदेशी पर्यटकलाई ‘अनअराइभल भिसा’ उपलब्ध गराएसँगै पर्यटन क्षेत्रमा उत्साह पनि छाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित