यस वर्षको मदन पुरस्कार विजेता
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ३२२ पटक पढिएको
लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह
यस वर्षको मदन पुरस्कार विजेताको नाम सार्वजनिक भएको छ । यस वर्षको मदन पुरस्कार भगिराज इङ्नामको "लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह"लाई प्रदान गरिएको छ । त्यसैगरी जगदम्बा श्री पुरस्कार नृत्यशास्त्री भैरवबहादुर थापालाई प्रदान गरिएको छ । मदन पुरस्कार गुठीको बिहीबार बसेको बैठकले उक्त कृतिहरुलाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।
दुवै पुरस्कारको राशि ४ लाख रुपैयाँ रहेको बताईएको छ । मदन पुरस्कार गुठीमा २०७७ सालमा प्राप्त २२२ पुस्तकहरुमा गुठीले ९ वटाको मदन पुरस्कार श्रेष्ठ सूची सार्वजनिक गरेको थियो । जसमा ‘एकलव्यको देब्रे हात, करिया, कल्प ग्रन्थ, नृत्याक्षर विज्ञान, फिलिङ्गो, फुलाङ्गे, मोक्षभूमि, रमिते र लिम्बुवानको ऐतिहासिक दस्तावेज छनोट भएका थिए ।
नृत्यशास्त्री भैरवबहादुर थापा
नेपाल तथा नेपालबाट प्राप्त नेपाली भाषामा प्रकाशित पुस्तकहरु मध्येबाट एक पुस्तकलाई मदन पुरस्कार तथा नेपाली भाषा, वाङ्ग्य तथा संस्कृतिको श्रीवृद्दिमा योगदान गर्ने व्यक्ति/ संस्थालाई जगदम्बा -श्री अर्पण गरिन्छ ।
वि स २०१२ मा स्थापित मदन पुरस्कार गुठीले पहिलोपल्ट २०१३ सालमा गद्य विधामा सत्य मोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालिन नेपाल’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभाव स्थिरविधुत् उत्पादक’ पुस्तकले मदन पुरस्कार प्राप्त गरेको थियो ।
त्यस्तै वि स २०२४ सालमा रानी जगदम्बाको निधनपछि उहाँको सम्झना स्वरूप जगदम्बा- श्री पुरस्कारको स्थापना गरिएको थियो । उक्त सम्मान पहिलोपटक नारायण गोपालले प्राप्त गरेका थिए ।