अत्याधिक गर्मी हुने दिनहरू दोब्बरले वृद्दि

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १४८ पटक पढिएको

 

तापक्रम ५० डिग्री सेल्सियस माथि पुगेर हरेक वर्ष अत्याधिक गर्मी हुने दिनहरू विगत चार दशकमा दोब्बर भएको एक विश्लेषणले देखाएको छ । विश्वमा अत्याधिक गर्मी हुने ठाउँहरू पनि विगतको भन्दा धेरै स्थानमा फैलिँदा मानव स्वास्थ्य र हाम्रो जीवनशैलीमै अभूतपूर्व चुनौती थपिएको उक्त विश्लेषणले देखेको हो ।

बीबीसीले गरेको उक्त विश्लेषण अनुसार सन् १९८० देखि २००९ को बीचमा औसतमा वर्षको १४ दिन मात्रै ५० डिग्रीभन्दा बढी तापक्रम पुगेको थियो । तर २०१० देखि २०१९ को बीचमा यस्तो गर्मी हुने दिनहरू बढेर वर्षको २६ दिनसम्म पुगे ।  त्यस्तै यो अवधिमा ४५ डिग्री माथि तापक्रम पुग्ने दिनहरू पनि औसतमा वर्षको दुई हप्ता बढेको पाइएको छ।

बीबीसीको विश्लेषणले १९८० देखि २००९ को दशकको तुलनामा पछिल्लो दशकमा उच्चतम तापक्रम थप ०.५ डिग्री सेल्सियसले बढेको देखाएको छ । यस्तो वृद्धि विश्वभर समान रूपमा महसुस चाहिँ गरिएको छैन । पूर्वी युरोप, दक्षिणी अफ्रिका र ब्रजिलमा १ डिग्री भन्दा बढी तापक्रम वृद्धि भयो भने आर्कटिक र मध्यपूर्वमा २ डिग्री बढीले वृद्धि भएको उल्लेख गरेको छ । 

युनिभर्सिटी अफ अक्सफोर्डका वातावरण परिवर्तन सम्बन्धी उप निर्देशक फ्रेडरिक ओट्टोले यसरी तापक्रम बढ्नुमा खनिज इन्धनको प्रयोग शतप्रतिशत जिम्मेवार रहेको बिबिसीलाई बताएका छन् । 

विश्वभरिकै तापमान बढ्दै जाँदा चरम गर्मी बढिरहनु स्वभाविकनै हो । तर मानिस र प्रकृतिका लागि निकै घातक हुने तातो हावाले भवन, सडक र ऊर्जा प्रणालीलाई पनि ठूला समस्या निम्त्याउन सक्ने बिबिसीले उल्लेख गरेको छ ।

मध्यपूर्व र खाडीले ५० डिग्रीको तापक्रम हुने सबैभन्दा धेरै क्षेत्र समेटेको छ । यो वर्ष इटलीमा ४८.८ डिग्री र क्यानडामा ४९.६ डिग्री तापक्रम मापन गरिएको थियो । इटली र क्यानडामा इतिहासकै सबैभन्दा धेरै तापक्रम मापन भएको हो । 

वैज्ञानिकहरूले जीवाश्म इन्धनको उत्सर्जन नरोकिए ५० डिग्री माथि तापक्रम विश्वको जताततै पुग्ने चेतावनी दिइरहेका छन् । उनिहरूले स्कटल्यान्डको ग्लास्गोमा आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रसङ्घीय सम्मेलनबाट तत्कालै कदम चाल्न माग गरेका छन् । सम्मेलनमा विश्व तापमान वृद्धि नियन्त्रणका लागि सरकारहरूलाई उत्सर्जन घटाउन नयाँ प्रतिवृद्धतामा जनाउन आह्वान गरिने बताईएको छ ।

 

तस्बिर : रिसर्च गेट 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित