इन्टरनेटको शुल्क नबढाउन क्यानको ध्यानाकर्षण
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १६२ पटक पढिएको

निजी क्षेत्रका इन्टरनेट सेवाप्रदायकले इन्टरनेट शुल्क बढाउने तयारी गरिरहँदा क्यान महासंघले सरकारलाई ध्यानाकर्षण गरेको छ । क्यानले मंगलबार एक विज्ञप्ति जारी गर्दै सरकार र विद्युत प्राधिकरणकै कारण इन्टरनेट सेवाप्रदायकहरु शुल्क बढाउन बाध्य पारेको उल्लेख गर्दै खबरदारी गरेको हो ।
क्यानले सरकारी निकायकै गतिविधिका कारण पूर्वाधारको लागत बढ्न गई इन्टरनेट सेवा प्रवाहमा प्रतिग्राहक तीन सय रुपैयाँसम्म शुल्क बढ्नु राम्रो नभएको उल्लेख गरेको छ ।
‘निजी-सरकारी साझेदारीमा सुरुवात भएको इन्टरनेट सेवा तथा इन्टरनेट सेवालाई देशभर पुर्याउन निजी क्षेत्रका अर्बौंको लगानी, नेतृत्वदायी भूमिका तथा यसमार्फत देशको अर्थतन्त्रलाई पुर्याएको योगदानका कारण आज नेपालको इन्टरनेट सेवा यो अवस्थामा आएको कुरा सर्वविदितै छ,’ विज्ञप्तिमा उल्लेख छ ।
क्यानले ऊर्जामन्त्री, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय तथा नेपाल विद्युत प्राधिकरणसँग पोल तथा ओपीजीडब्लुको भाडादर बढाउने निर्णय फिर्ता लिन तथा पोल एवं ओपीजीडब्लु भाडादर पुनरावलोकन गर्न समेत आग्रह गरेको छ ।
प्रति किलोमिटरका दरले पोल भाडादर कायम गर्दा इन्टरनेट सेवाप्रदायक, आम उपभोक्ता तथा डिजिटल नेपाल अभियानकै लागि व्यवहारिक नहुने क्यानको ठम्याइ छ ।