ट्राफिक प्रहरी महाशाखाको चाडपर्व लक्षित विशेष सुरक्षा योजना
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २२३ पटक पढिएको

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्व नजिकिएसँगै उपत्यकामा विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । दशैं, तिहार तथा छठलगायतका पर्वलाई लक्षित गरेर महाशाखाले ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना सोमबार सार्वजनिक गरेको हो ।
ट्राफिक प्रहरीको अधिकतम परिचालन, प्रभावकारी व्यवस्थापन, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यका साथ महाशाखाले चाडपर्व विशेष सुरक्षा योजना हिजो देखिनै लागू भैसकेको जनाईएको छ ।
महाशाखाले विभिन्न ४३ ठाउँमा २४ सैं घण्टा चेकजाँच सुरु गर्ने जनाएको छ । थानकोट, नागढुङ्गा, जगाती, फर्पिङ, साँखु, बालाजुबाइपास, मुड्खु, टोखा लगायतबाट उपत्यका बाहिरिने सबै प्रकारका सवारी साधनहरुलाई नाकामा कडाइका साथ चेकजाँच गर्ने महाशाखाको योजना रहेको छ ।
महाशाखाले प्रहरीको एप्सबाट पनि चेकजाँच गर्ने समेत उल्लेख छ । मुख्यतय लामो दुरीका सवारी साधनमा क्षमताभन्दा बढि यात्रु राखे नराखेको, बढि भाडा लिए नलिएको, चालकले मापसे गरे नगरेको, चालकको अबस्था, स्वास्थ्य मापदण्ड पालना भए नभएको चेकजाँच गर्ने महाशाखाले जनाएको छ ।
महाशाखा अनुसार उपत्यकाको १४ स्थानमा यात्रु सहायता कक्षहरु सञ्चालन हुने भएको छ । नागढुङ्गा, कलंकी, स्वयम्भू, माछापोखरी, नयाँबसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जागती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा सहायता कक्ष रहनेछन् । आम सर्वसाधारण तथा यात्रुले पाकेटमार तथा अन्य आपराधिक गतिबिधी र सुरक्षा सम्बन्धी सम्पूर्ण कुराहरु सूसुचित गर्न कक्षको सहायता लिन सकिने महाशाखाले जनाएको छ ।