एक सय सात वर्षीय जापानी दिदीबहिनी बने सबैभन्दा ज्येष्ठ जुम्ल्याहा
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २०४ पटक पढिएको

दुई जापानी दिदीबहिनीलाई गिनिज वर्ल्ड रेकर्ड्सले विश्वकै सबैभन्दा ज्येष्ठ जीवित जुम्ल्याहाका रूपमा प्रमाणपत्र प्रदान गरेको छ । उमेनो सुमियामा र कोउमी कोदामले यसअघि जापानकै अर्का जुम्ल्याहा दिदीबहिनीको नाममा रहेको कीर्तिमान तोडेका हुन् ।
उनीहरू १ सेप्टेम्बरका दिन १०७ वर्ष ३०० दिनका हुँदा गिनिज वर्ल्ड रेकर्ड्सले प्रमाणित गरिएको हो । उनीहरूलाई ज्येष्ठ नागरिकहरूप्रति सम्मान व्यक्त गर्ने दिनको अवसर पारेर घोषणा गरिएको बिबिसीले जनाएको छ । कोभिड महामारीका कारण जापानका फरकफरक ठाउँमा रहेका उनीहरूलाई भिन्दाभिन्दै प्रमाणपत्र पठाइएको बिबिसीले जनाएको हो । सन् १९१३ को नोभेम्बर ५ का दिन सोदोसिमा टापुमा जन्मिएका उमेनो र कोउमी निकै मिलनसार व्यक्तिका रूपमा परिचित छिन् ।
यसअघिका किन र जीन १०७ वर्ष १७५ दिनको कीर्तिमान कायम गरेका थिए । उनीहरुको नामको अर्थ जापानी भाषामा सुन र चाँदी भन्ने हुन्छ। किनको मृत्यु सन् २००० को ज्यानुअरीमा भएको थियो भने त्यसको एक वर्षपछि १०८ वर्षको उमेरमा जीनको मृत्यु भएको थियो ।
सन् १८९२ को अगस्ट १ मा जन्मिएका उनीहरूको आफ्नो जीवनको अन्तिम दशकमा सञ्चारमाध्यमहरूमा निकै चर्चित बनेका थिए ।
तस्बिर :गिनिज वर्ल्ड रेकर्ड्स