अन्तरिक्ष भ्रमण गरेर फर्किए चार पर्यटक
- वर्ल्ड दैनिक
- २ साल अघि
- २०० पटक पढिएको
चार जना अन्तरिक्ष पर्यटक चढेको स्पेस एक्स क्याप्सुल अमेरिकाको फ्लोरिडा राज्य नजिकैको समुद्रमा अवतरण भएको छ । तीन दिन अन्तरिक्षमा बिताएर गैर पेशेवर अन्तरिक्ष यात्रीहरूको समूह एटलान्टिक महासागरमा अवतरण गरेको हो । यस सँगै उनीहरू सबैजना पृथ्वीको कक्षको भ्रमण गर्ने पहिलो सर्वसाधारण यात्रुको समूह बनेका छन् ।
द इन्सपिरेशन फोर चालक दल स्पेसएक्स क्याप्सुलमा उनीहरू बुधवार फ्लोरिडाबाट उडेका थिए र शनिवार जीएमटी २३ बजे समुन्द्रमा अवतरण गरेका हुन् । समाचार संस्था रोयटर्सका अनुसार उनीहरू पृथ्वीको सतहबाट ५८५ किलोमिटरमाथिसम्म पुगेका थिए ।
इन्स्पिरेशन फोर समूह अर्बपति ज्यारेड आइज्याकम्यानले उक्त यात्राको कमान्डरका रूपमा नेतृत्व गरेका थिए । उनले सबै यात्रुको खर्च (जुन सार्वजनिक गरिएको छैन) बेहोरेका बिबिसीले जनाएको छ । उनले आफूसहित तीन यात्रुको भाडा स्वरूप उक्त रकम अर्का अर्बपति इलन मस्कलाई तिरेका र उक्त तीनजना सर्वसाधारणलाई आफैले चुनेका समेत बिबिसीले उल्लेख गरेको छ ।
उक्त क्याप्सुलमा अर्बपति व्यवसायी जेएर्ड आइज्याकम्यान, फिजिसिएन असिस्टेन्ट हेइले आर्सिनेउक्स, डाटा इन्जिनियर क्रिस सेम्ब्रोस्की र सामुदायिक कलेजका शिक्षासेवी सियान प्रोक्टर थिए । टाइम म्यागेजिनले उक्त खर्च करिब २ करोड डलर हुने अनुमान गरेको छ ।
चार प्याराशुटले यानको तल झराइलाई सुस्त बनाउँदै लगेर पानीमा झरेपछि स्पेसएक्सका डुङ्गाले उनीहरूलाई बाहिर निकालेका बताईएको छ । इलन मस्कको कम्पनीले मानिसहरूलाई अन्तरिक्षमा लगेर पृथ्वीमा फर्काएको यो तेस्रो पटक हो । यसलाई अन्तरिक्ष पर्यटनको एक अर्को कोशेढुङ्गा पनि मानिएको छ ।