भौतिक उपस्थितिमा पठनपाठन नगर्न आदेश

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १७० पटक पढिएको

 

जिल्ला प्रशासन कार्यालय काठमान्डूले शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन गर्न र गराउन नपाउने आदेश जारी गरेको छ। कार्यालयले हिजो एक विज्ञप्ति जारि गर्दै असोज १ गतेदेखि लागू हुने गरी विद्यालयले भौतिक उपस्थितिमा पठनपाठन गराउन नपाउने जनाएको हो । 

काठमान्डूका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको संयोजकत्वमा अभिभावक, शिक्षक, विद्यार्थी तथा स्थानीय तहका शिक्षा हेर्ने प्रतिनिधि र जिल्ला विकास तथा समन्वय इकाईका प्रमुखहरुको सहभागितामा भदौ २१ गतेको बैठकले असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको थियो ।

विज्ञप्तिमा, ‘शैक्षिक संस्थाहरु (विद्यालय)ले भौतिक उपस्थितिमा पठनपाठन गर्न/गराउन नपाउने । गर्नैपर्ने भएमा महानगरपालिका तथा नगरपालिकाहरुले विद्यालय सञ्चालन गर्नु पूर्व आ-आफ्नो पालिकास्तरमा कोभिड-१९ संक्रमणको अवस्था विश्लेषण गर्ने । विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, सवारी चालक तथा सह-चालक, क्यान्टिन सञ्चालक र सञ्चालन समितिका पदाधिकारीहरु सबैले अनिवार्य रुपमा कोभिड-१९ विरुद्धको खोप लगाउनुपर्ने ।  अभिभावक तथा सरोकारवाला समूहहरुको छलफल र समन्वयमा स्थानीय तहमा विद्यालय सञ्चालनको विवरण तथा ढाँचा तयार गरी नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चालन गर्न सक्ने।’ जनाएको छ । 

""

 

त्यस्तै, प्रशासनले कोभिड-१९ को संक्रमण कायमै रहेकोले अनावश्यक रुपमा घर बाहिर निस्कने, जम्मा हुने, भिडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोज आदि नगर्न/नगराउन भनेको छ। यस अवधिमा पर्ने चाडपर्वहरु स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी न्यूनतम सहभागितामा साङ्केतिक रुपमा मात्र मनाउन पाइने बताइएको छ।

‘स्थानीय दुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म गर्न नपाउने। सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाउने,’ आदेश दिएको छ ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित