चाडपर्वलाई लक्षित गर्दै आजबाट ३९ जिल्लामा सुपथ मूल्य पसल सञ्चालन
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १८५ पटक पढिएको
चार्ड पर्वलाई लक्षित गर्दै सरकारले आजबाट सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ३९ जिल्लाको ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको हो । खाद्यकम्पनीले उपत्यका चार स्थान र उपत्यका बाहिर ३९ गरी ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने जनाएको हो ।

चाडपर्वको अवसरमा सरकारले हरेक वर्ष दशैँ, तिहार र छठ पर्वका बेला सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । यसअघि नै कोभिड सङ्क्रमणलाई ध्यानमा राख्दै उपभोक्ताको भीडभाड नहुने गरी खाद्यान्न बिक्री वितरण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन कम्पनीलाई निर्देशन दिएको बताईएको छ । असोज १ गतेदेखि सञ्चालन हुने सुपथ मूल्य पसल कात्तिक २४ गतेसम्म सञ्चालन हुनेछ ।
काठमाण्डू उपत्यकामा थापाथली, रामशाहपथ, नक्खु, लगनखेल र सूर्यविनायक बिक्री केन्द्रबाट सुपथ मूल्यमा खाद्य सामग्री बिक्री वितरण हुने जनाईएको छ । यस्तै, उपत्यकाबाहिर बनेपा, विराटनगर, बिर्तामोड, हेटौँडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुरा लगायत स्थानबाट खाद्य वस्तु बिक्री वितरण हुने बताइएको छ।
यस वर्ष खाद्य कम्पनीले च्याङ्ग्रा ल्याउने सम्भावना कम रहेको जनाईएको छ । कोभिडका कारण कम्पनीले गत वर्षसमेत च्याङ्गराको बिक्री वितरण रोकेको थियो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन, दुग्ध विकास संस्थान लगायतले सुपथ मूल्यका पसलमा २ देखि १० रुपैंया सम्मको छुटमा सामान बिक्री गर्ने बताएको छ । मन्त्रालयको अनुसार पसलहरुबाट समान किनेमा नूनमा प्रति केजी दुई रुपियाँ, चामलमा प्रति केजी पाँच, सिमी तथा फापर खरिदमा प्रति केजी १० र खसी बोका जिउँदोको प्रतिकेजी १० रुपियाँ छुट दिइनेछ ।
यस्तै दुग्धविकास संस्थानले पनि घिउ, पनीर लगायतका उत्पादन सुपथ पसलमा राख्ने भएको हो । दशैँमा अत्यावश्यक वस्तुमा छुट दिन मन्त्रालयले खाद्य कम्पनीलाई एक करोड ७५ लाख र साल्ट ट्रेडिङलाई एक करोड ५० लाख रुपियाँ छुट्याएको बताईएको छ ।