भाषा आयोग : रानाथारु भाषा बहुसङ्ख्यकले बोलिने सावित भए संशोधन गरिने

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २२३ पटक पढिएको

 

भाषा आयोगले  सुदूरपश्चिम प्रदेशमा रानाथारु भाषा बहुसङ्ख्यकले बोलिने भाषा सावित हुने तथ्याङ्क पुष्टि भएमा आगामी दिनमा सिफारिसलाई पुनरावलोकन र संशोधन गरिने बताएको छ । आफ्नो सिफारिसबारे प्राप्त सुझाव र प्रतिक्रियामा ध्यानाकर्षण भएको बताउदै आयोगले हिजो एक विज्ञप्ति जारी गरेको हो । 

रानाथारु भाषालाई सुदूरपश्चिमको सरकारी कामकाजको भाषा नसमेटेको विरोधमा कैलाली र कञ्चनपुरका रानाथारुहरु केहि दिन अघि आन्दोलनमा पनि उत्रिएका थिए । कैलाली र कञ्चनपुरमा  करिब ३ लाखभन्दा बढी राना समुदायका नागरिकको बसोबास रहेको छ । आदिवासीको रूपमा रहेको रानाथारूको छुट्टै भाषा, पहिचान र रीतिरिवाज छ ।

त्यसैगरी आयोगले राष्ट्रिय जनगणना, २०६८ को आधारमा प्रदेशमा बोलिने राष्ट्रभाषाको शीर्षस्थानमा रहेका भाषालाई प्राथमिकता दिइएको बताउदै रानाथारु भाषालाई प्रादेशिक भाषाका रुपमा सिफारिस गर्न नसकिएको जनाएको छ । सुदूरपश्चिम प्रदेशमा उक्त जनगणनामा थारु भाषामात्र प्रयोग भएको थियो ।

आयोगले  रानाथारूलाई थारु समुदायअन्तर्गत राखिँदै आएकोमा सरकारले २०७७, ५ जेठमा छुट्टै आदिवासीको सूचीमा सूचीकृत गरेको थियो।

आयोगले सरकारी कामकाजको भाषाको निर्धारणसहित सरकारलाई गत २१ गते प्रदेशगत रूपमा भाषाहरू सिफारिस गरेको थियो । जस अन्तर्गत सुदूरपश्चिम प्रदेशमा ‘डोट्याली र थारु भाषा’ सिफारिस भएको थियो । 

 

तस्बिर: भाषा आयोग 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित