प्रदेश १ को १६ वर्षीया सुस्मिता एक दिनका लागि गाउँपालिका प्रमुख
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १४५ पटक पढिएको

प्रदेश १ को बूढीगंगा गाउँपालिकाकी १६ वर्षीया सुस्मिता ऋषिदेव मंगलबार एक दिनका लागि गाउँपालिका प्रमुख भएकी छिन् । ५७ औं राष्ट्रिय बालदिवसको अवसरमा गाउँपालिका प्रमुखले गर्ने सम्पूर्ण काम मंगलबार उनले गर्ने बताईएको छ ।
बालबालिकाहरुलाई स्थानीय सरकार के हो र यसले कसरी कार्य गर्छ भन्ने अनुभूती दिलाउने उद्देश्य अनुसार बालिकालाई एक दिनका लागि गाउँपालिका प्रमुख बनाउने कार्यक्रम राखिएको राष्ट्रिय बाल अधिकार परिषद् प्रदेश १ का समन्वय अधिकृत सुमन अधिकारीले बताए ।
उनका अनुसार बालबालिकामा नेतृत्व विकासको अभ्यास गराउने र राष्ट्रिय बाल दिवसलाई नेपालमा नै फरक र नविन रुपमा मनाउने योजना अनुसार कार्यक्रम तय गरिएको हो । भदौ २९ गते (आज) गाउँपालिकाको नेतृत्वमा बालबालिका भन्ने कार्यक्रम गर्न लागिएको उनले बताए ।
नेपालको संविधानले व्यवस्था गरेको तीन तहको सरकारमध्ये घरगाउँको सरकारको रुपमा रहेको स्थानीय तहले बालबालिकाका विषयहरुलाई कसरी व्यवस्थापन गरिरहेको छ । बालबालिकाहरुले आफ्नो स्थानीय तहलाई कसरी बुझेका छन् । गाउँपालिकाको नेतृत्वले कसरी काम गर्छन् भन्ने विषयलाई बालबालिका स्वयंले अनुभूत गर्नका लागि एकदिन गाउँपालिकाको अध्यक्षको भूमिकामा बालबालिकालाई राखि अनुभव आदानप्रदान गर्दै गाउँपालिकाको नेतृत्वमा बालबालिका भन्ने कार्यक्रम गरिने उनले बताए ।
बूढीगंगा गाउँ कार्यपालिकाको सोमबारको बैठकले मंगलबार राष्ट्रिय बाल दिवसका दिन गाउँपालिकाको एक बालिकालाई आर्थिक र प्रशासनिक अधिकार बाहेक सांकेतिक रुपमा गाउँपालिकाको अध्यक्ष बनाउने निर्णय गरेको थियो । गाउँपालिकाको निर्णय अनुसार मंगलबार बिहान १० बजे गाउँपालिका अध्यक्षबाट अध्यक्षका लागि छनोट भएकी सुस्मिता ऋषिदेवलाई जिम्मेवारी प्रदान गरिएको पत्र प्रदान गरिने, पत्र प्राप्त भए पश्चात बालिकालाई अध्यक्षको पदभार ग्रहण गराइने कार्यक्रम रहेको राष्ट्रिय बालअधिकार परिषद्का समन्वय अधिकृत अधिकारीले बताएका थिए ।
कार्यपालिकाको बैठक पश्चात नजिकको एक विद्यालय र एक स्वास्थ्य चौकीको अनुगमन गर्ने । अनुगमनपछि पालिकाका कर्मचारी जनप्रतिनिधिहरु र अन्य समेतको सहभागितामा कार्यक्रम सञ्चालन गर्ने । अनुमगन सम्बन्धी धारणाहरुको विषयमा छलफल र अन्तर्क्रिरया सञ्चालन गर्ने । कार्यपालिकाको बैठक सञ्चालन र धन्यवादसहित निर्वाचित अध्यक्ष बालचन्द्र माझीलाई जिम्मेवारी हस्तान्तरण गरिने बताईएको छ ।
बालबालिकाले स्थानीय तहलाई कसरी लिएका छन् र कसरी बुझेका रहेछन् भन्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझीको भनाई छ ।