जनै कसले लगाउन हुने कसले लगाउन नहुने
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ५३९ पटक पढिएको
जनैपूर्णिमा श्रावण शुक्लपक्षको पूर्णिमाको तिथिलाई भनिन्छ । वैदिक कालमा जनैलाई यज्ञोपवित भनिन्थ्यो । यज्ञ गर्ने ब्राह्मण र यज्ञ गराउने यजमान दुवैले जनै लगाउने गर्थे । हिन्दुधर्मावलम्बीहरुमा व्रतबन्ध संस्कार गरिसकेका पुरुषहरुले काँधमा लागाउने धागोलाई नै जनै भनिन्छ । तर परापूर्वकालमा जनै महिलाले पनि लगाउने गर्थे । पुराकालेतु नारीणां मौने बन्धन मिश्यते । दुवैले लगाउने जनैको महत्व भने एकै हो । पछि विभिन्न प्राकृतिक कारणले गर्दा महिलाले यज्ञोपवित लगाउन छाडेका हुन् । वैदिक ऋचा उच्चारण गर्दा कठोर साधनामा बस्नुपर्ने हुँदा महिलालाई वर्जित गरिएको थियो । तर यसको मतलब, यदि महिला पनि यस्तो साधनामा बस्न इच्छुक छन् भने उनीहरुलाई रोकिनु हुँदैन भन्ने अर्थ पनि बुझिनु पर्छ ।
जनैपूर्णिमाका शास्त्रीय कथन
देख्दा धागोजस्तो भएतापनि जनैलाई वैदिक विधि विधान अनुरुप प्रतिष्ठा गरेर शक्तिशाली बानाइएको हुन्छ । धागोमा विभिन्न देवताहरुको आराधना गरेर अभिमन्त्रण गरिसके पछि यो धागो जनै र यज्ञ पवितको रुपमा परिणत हुन्छ । धार्मिक दृष्टिकोणबाट जनैधारण गर्नेले शरीर शुद्ध र पवित्र हुने मानिन्छ । जनै धारण गरेका व्यक्तिलाई कुनै पनि आसुरी शक्तिले अक्रमण गर्न सक्दैनन् । जनै लाई हिन्दु सनातन धर्मको कडी मान्नपनि सकिन्छ ।
जनैमा प्रयुक्त हुने नौ डोरा ३ ग्रन्थि वा शिखाहरूले ईश्वरीयज्ञान र जीवनचक्रबारे वास्तविक रहस्य बुझ्ने कुरामा मार्गदर्शन गर्न सहयोग गर्छन् । यी कर्महरू गर्दा व्यक्ति, देवऋण, ऋषिऋण र पितृ ऋणबाट मुक्त हुने धार्मिक विश्वास छ । दानवी शक्तिबाट रक्षित हुनका लागि आजैका दिन रक्षाबन्धन वा हातेडोरो बाँध्ने गरिन्छ ।
चिकीत्सा विज्ञानका अनुसार दायाँ कानका नास, अण्डकोष र गोप्य इन्द्र सँग जोडिएको हुन्छ । पिसाब फर्ने समयमा दायाँकानमा जनै राख्नाले शुक्रकिटको रक्षा हुनुको सथै नराम्रो सपाना देख्ने समस्या बाट मुक्ति मिल्छ भन्ने मान्यता छ । यो पनि मान्यता छ की शरीरको मध्यम भाग बाट पिठ्यूँमा जाने एक प्राकृतिक रेखाले विद्युतीय प्रवाहको काम गर्छ । यो रेखा बयाँ काँधबाट कम्मरसम्म फैलिएको हुन्छ । त्यसैले जनै लगाउँदा विद्युतीय प्रवाह नियन्त्रीत हुन्छ । जस्को कारण काम क्रोध लोभ मोहमा नियान्त्रण पाउन सकिन्छ ।
रक्षा बन्धनको सूरुवात ऋग्वेदको दशम मण्डलका अनुसार शशि इन्द्रायणीले देवगरु वृहस्पतिको सल्लाहा अनुसर ईन्द्रको हातमा बाँधेर लडाईंमा गएको र विजय प्राप्त गरेको भनाई छ ।
भविष्य पुराणका अनुसार इन्द्र असुर सँग पराजित भएर स्वर्ग छोडनु पर्ने स्थिति आयो । त्यस बखत आत्तिएर इन्द्र त्रिदेवका शरणमा पुगे तर त्रिदेवले मद्दत गर्न नसक्ने बताएपछि पार्वतीको शरणमा पुगे । पार्वती माताले दैवी शक्ति संयुक्त रक्षा सूत्र इन्द्रको हातमा बाँधेपछि इन्द्रले दैत्यहरुलाई पराजित गरेका थिए । वामन पुराणमा राजा बलिलाई विष्णुले पैतालाले पातालमा पुर्याएको कथा पाइन्छ । भागवत्मा यशोदाले कृष्णजीलाई दुष्ट आत्माबाट बचाउने रक्षा सुत्र बाँधेको उल्लेख छ ।
महाभारतमा श्री कृष्णको आंैलाबाट चोट लागेर रगत नरोकिएपछि द्रौपदीले आफ्नो साडीको किनार बाँधेर च्यातिदिनु भयो । त्यस पछि रगत रोकियो र श्री कृष्णले द्रौपदीलाई के वरदान माग्छौ भन्दा पछि माग्छु भनिन् र चीर हरणका बेलामा कृष्णजीले साडी दिएर लाज बचाएको इतिहासमा पाईन्छ । यो घटना पनि अहिलेको रक्षा बन्धनको तिथि मिति सँगै जोडिएको मान्यता छ ।
पौराणिक मान्यता अनुसार सत्य युगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी डोरो बाँधेर जोगाएका तथा वामन अवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किम्वदन्तीसँग पनि रक्षा बन्धनको सम्बन्ध जोडिएको छ । यसैगरी यस दिन देह शुद्ध गरी देवता, सप्तऋषी –कश्यप, अत्री, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्र) तथा पितृहरुको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यस पर्वलाई ऋषितर्पणीका नामले पनि चिनिन्छ ।
जनैपूर्णिमामा बाँधिएको डोरी गाईतिहारको दिन गाईको पूच्छरमा बाँधे मृत्यु पश्चात् बैतरीणी पार हुने मान्यता छ । आजकै दिन भगवान् गौतम बुद्धले कामशक्ति माथि विजय गरेका थिए भनेर बौद्ध ग्रन्थ ललित विस्तारमा उल्लेख गरेको पाईन्छ ।
आजको दिन काठमाण्डू उपत्यका र यसको प्रभाव परेको क्षेत्रमा बासोबास गर्ने नेवार समुदायमा भने यस पर्वलाई गुन्हु–पुन्ही भनी मास, भटमास, मँुग, ठूलो केराउ, सानो केराउ, चना, सिमि, बोडी गरी नौ प्रकारको गेडागुडी मिसाएको क्वाँटी खाएर मनाउने चलन छ ।
यस दिन रसुवा जिल्लामा पर्ने लामटाङ हिमालको काखमा रहेको, गोसार्इं कुण्डमा ठूलो मेला लाग्दछ । साथै गोसार्इंकुण्ड बाटै पानी आईरहेको जनविश्वास रहेको पाटनको कुम्भेश्वर मा ठूलो मेला लाग्छ ।
जनै कसले लगाउन हुने कसले लगाउन नहुने
यो आलेखमा महिलाले जनै लगाउने वा नलगाउने भन्ने विषयमा माथि नै उल्लेख गरीसकिएकाे छ । अब जनै कुन जातले लगाउन हुन्छ वा हुँदैन भन्ने विश्लेषण तिर लागौं ।
जन्मना जायते शुद्र, कर्मणा द्वीज उच्चयते ।।
अर्थात् जन्मँदा सबै शुद्र भएर जन्मन्छ, र पछि उसको कर्मको आधारमा ब्राह्मण, क्षेत्रीय, वैश्य– (द्वीज) र शुद्र वर्ण प्राप्त गर्दछ । द्वीज मतलब एकै जन्ममा दुई पटक जन्मेको; अर्थात् आमाको गर्भबाट प्राकृतिकरुपमा एकपटक जन्म लिएपछि उसले धारण गरेको कर्मलाई शास्त्र अनुसार संस्कारित पुनः जन्म गरेपछि ऊ द्वीज कहलिन्छ ।
शास्त्रको गुह्य विधि विधानलाई मान्ने नै हो भने, जन्मँदैमा उसको वर्ण निर्धारित हुँदैन । पछि उसले गर्ने कर्मानुसार शुद्र, वैश्य, क्षेत्री, वा ब्राह्मण जो पनि हुन सक्छ । तसर्थ ब्राह्मण बन्न उसको वंशको जातले फरक पार्दैन । अझ सरल भाषामा भन्नु पर्दा कामी, सार्की, दमै, नेवार, क्षेत्री, ब्राह्मण कुनै पनि कुलमा जन्मेर कर्मका आधारमा द्वीज बन्न सक्दछ । अतः यी सम्पूर्ण कुरालाई ध्यानमा राख्ने हो भने मानिस कर्मका आधारमा विभाजित हुन्छ । र शास्त्र अनुसार व्याख्या गर्ने हो भने, द्वीज जातिले मात्र जनै लगाउन सक्छन् । उपर्युक्त कुरालाई मध्यनजर गर्दै, मनुस्मृतिको निम्न श्लोकले अझ बढी यसको अर्थलाई प्रष्ट्याएको छ ।
शुद्रो ब्रम्हान्दतामेती ब्रम्हान्सचैती शुद्रतम ।
क्षेत्रीयजज्जात्मेवन्तु विध्यदं विस्यत्तथैव च ।।
(मनुस्मृती १०ः६५)
अर्थात् शुद्रको कोखबाट जन्मेर ब्राह्मण, क्षेत्री, वैश्य समानको कर्म, गुण, स्वभाव प्राप्त गरेमा त्यो शुद्रले ब्राह्मण क्षेत्री वैश्य वर्णलाई उसको क्षमता अनुसार प्राप्त गर्दछ । त्यस्तै ब्राह्मण क्षेत्री या वैश्यको कोखमा जन्मेतापनी उसको कर्म गुण स्वभाव बाट हिन भएमा त्यस्ता व्यक्तिले शुद्रवर्ण प्राप्त गर्दछ । यहाँ शुद्र भन्नु र अहिले नेपालमा व्याख्या गरिएको दलित भन्नु एकै अर्थ होइनन् । हरेकका आ– आफ्नै कर्म र स्वभाव हुन्छन् ।
विभिन्न विद्वान् हरुको भाष्य अनुसार वैदिक सुक्तलाई सजिलै अर्थ्याउन सकिँदैन । निकै कठोर साधनाको आवश्यकता पर्दछ । अब घर, गृहस्थी, विभिन्न काम गर्ने अनि जिविकोपार्जन गर्ने, अफिस जाने आउने, यी कुनै पनि व्यक्तिले वैदिक साधनाका मूल्य मान्यतालाई सम्मान गर्न सक्दैनन् । यस्ता व्यक्तिहरु यजमान बन्न सक्लान् तर कर्म, ज्ञान र व्याख्या गर्ने ब्राह्मण बन्न सक्दैनन् ।
हामी पनि स्कूल, कलेज पढ्दा गुरुहरुले वा हाम्रा बा आमाले निकै नै समय दिएर, ध्यान दिएर पढन् पर्छ भन्ने गर्थे । धारणा र ध्यान सहित पढ्ने व्यक्तिले मात्र पढाई वा ज्ञानको क्षेत्रमा राम्रो गर्न सक्छन् भन्ने गर्थे । त्यो सबैको अर्थ, पूर्ण ब्राह्मण बन, अनि केन्द्रीकृत भएर पढ भनेको हो । तसर्थ जनैपूर्णिमा निकै नै महत्वपूर्ण चाड हो, किनकि यो सोझै वेद र ज्ञानसँग जोडिएको छ ।