प्लास्टिकको झोला प्रतिबन्ध लगाउन फेरी आदेश

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ३२० पटक पढिएको

सर्वोच्च अदालतले प्लास्टिकको झोला प्रतिबन्ध लगाउन फेरी अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चले पटकपटक अदालतले दिएको आदेश कार्यान्वयनमा नआएको र सरकारले बजेटमा गरेको व्यवस्था समेत कार्यान्वयनमा नल्याएको भन्दै आइतबार सरकारका नाममा आदेश जारी गरेको हो ।

अदालतले आर्थिक वर्ष ०७८/७९ को  बजेट वक्तव्यको बुँदा १६० मा साउन १ गतेबाट ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको उत्पादन, आयात र बिक्री–वितरणमा पूर्ण प्रतिबन्ध लगाउने व्यवस्था गरिएको भए तापनि, कार्यान्वयन नभएकाले १० दिनभित्र विस्तृत कार्ययोजना तयार गर्नेसहितका रिटमा ६ बुँदे आदेश जारी गरेको थियो ।

आदेश अनुसार ‘४० माइक्रोनभन्दा पातलो प्लास्टिकको उत्पादन, आयात, बिक्री–वितरण र प्रयोगमा पूर्ण रूपमा प्रतिबन्ध लगाउने भनी उल्लेख भएको व्यवस्थालाई माथि विवेचित सांवैधानिक, कानुनी तथा यस अदालतबाट वातावरणीय न्यायका सन्दर्भमा प्रतिपादित सिद्धान्तको समग्रतामा हेरिनुपर्ने देखिन आयो,’ भनिएको छ ।

सर्वोच्चको यो आदेश नयाँ भने होइन । ०७१/७२ सालमानै यसबारे निर्देशन भैसकेको थियो । सरकारले राजपत्रमा प्लास्टिक प्रतिबन्ध सम्बन्धित करिब ८ वर्ष अगाडिनै सूचना निकालिसकेको थियो । ०७१ चैत्र १८ गतेको राजपत्रमा  प्रकाशित सूचना अनुसार ‘नेपाल सरकारले ०७२ साल वैशाख १ गतेदेखि लागू हुने गरी देहायका क्षेत्रहरूमा २० इन्च चौडाइ र ३५ इन्च लम्बाइ साइज र ४० माइक्रोन मोटाइसम्मका प्लास्टिक झोलाहरूको आयात, भण्डारण, बिक्री वितरण र प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो ।’ जसलाई त्यतिखेर ’इतिहासकै सबभन्दा राम्रो निर्णय’ समेत मानिएको थियो ।  यद्यपि त्यसको कार्यान्वयन अझै सम्म हुनसकेको छैन ।

यतिखेर कोरोना महामारीका कारण थप प्रयोग गर्नुपरेका पीपीई, मास्क, स्यानिटाइजरका बोतल लगायतका कोभिड–१९ जन्य सामग्रीहरूका कारण नेपालसहित संसारभर प्लास्टिकको प्रयोग उल्लेख्य बढेको छ । वैज्ञानिक उत्तम बाबु श्रेष्ठको एक लेख अनुसार नेपालले हाल वार्षिक ३७० मिलियन डलर बराबरको प्लास्टिकजन्य सामग्रीको आयात गर्छ ।

प्लास्टिकले निम्त्याएको जटिल वातावरणीय र मानव स्वास्थ्य समस्याका कारण प्लास्टिक प्रदूषणलाई अहिले संसारकै मुख्य वातावरणीय समस्या मानिन्छ । संयुक्त राष्ट्रसंघीय प्रतिवेदनका अनुसार, हालसम्म १२७ देशले प्लास्टिक सम्बन्धी नियम–कानुन बनाएका छन् । त्यस्ता पहलकदमहरूमा कर लगाउने (डेनमार्क) र प्रतिबन्ध लगाउने (बंगलादेश, केन्या) प्रमुख छन् ।

प्लास्टिकको आविष्कार भए यता हालसम्म संसारमा करिब ९ बिलियन टन प्लास्टिक उत्पादन भएको वैज्ञानिकहरुको अनुमान छ । बढ्दो उत्पादन र प्रयोगसँगै प्लास्टिकको फैलावट पनि बढ्दो छ । उपत्यकामा मात्रै एक पटकको प्रयोगपश्चात् फोहोर बन्ने दैनिक ४८ लाख प्लास्टिकका झोलाहरू प्रयोगमा आइरहेको विज्ञानिकहरुको अध्ययनले देखाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित