महामारीको समयमा सम्झनाका लहरहरु
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २७२ पटक पढिएको
सुभाष चाैलागाईं
काठमाण्डूमा कालो चियाको पन्ध्र रुपैयाँ पर्छ अचेल । यो महामारी पछि चियाको भाउ कति हुने हो थाहा छैन । तर मलाई एउटा यस्तो चिया पसल थाहा थियो जहाँ कालो चिया दस रुपैयाँमा नै पाइन्थ्यो । म चिया पिउन धेरै जसो तेहीँ जान्थेँ । चिया पसलमा खुबै देशको चर्चा चल्थ्यो । मलाई पनि दैनिकी भेटिने पात्र ठानेका थिए साउजीले । चकोर साँझमा जीवनका गफगाफ, खुबै रमाइलो क्षण बन्दथे । अब फेरि त्यस्तो दिनहरु आउँदैनन् । मलाई आज खुबै द्रव्यभूत हुन मन छ । त्यो चिया पसलमा नियमबद्ध कैयन पात्रहरु आउँथे । स्मृतिमा सबैका मुहार याद त छैनन् । तर म केही भुल्न नसक्ने पात्रहरुलाई परिचय जरुर गराउँछू ।
कता छन् होला आज भोली त्यो भाई, जसको कपाल खैरो र ओठ छेडेको, आफुलाई कुनै नेपाली फिलिमको हीरो ठानेर हिड्ने गर्दथे । बालुवा झार्ने काम गर्थे उनी, अनि आफुले गरेको काम बाट धेरै खुशी । म उसलाई हेरेर मनमनै भन्ने गर्थँे, “शायद यी छुटेछन् कुनै बाल सङ्ठनको अनुसूचीमा । एनजिओको आँखाले देख्न नभ्याएका पात्र ।” ती भाइको उमेर पन्ध्र थियो । गाउँका ठुलाठुला दाईहरुको लहैलहैमा उनी गाउँबाट भागेर आएका थिए । उनी दिउँसभरी व्यस्त रहन्थे । गाडी जता जान्छ तेतै, सहचालकको काम पनि धेरै नै पर्छ नि त । तर साँझ चिया पसलमा अनिवार्य देखा पर्दथे । न उनलाई घरको पीर न त भरको पीर । कैले काँही भन्दथे – “यसै गरी पूरा जीवन बिताइदिन्छू ।”
ती भाई आज भोली कता छन् होला ? के गर्दै छन् होला ? यो पृथ्वीको भार बोक्ने शिलशिलामा उनको एक भारी कतै बिसाएका त छैनन होला ? माहामारीले उनको जिवन प्रतिको उर्जा सेलाएको त छैन होला ? भाई, म तिमीलाई आज धेरै सम्झिरहेछू । तिमीलाई जीवनको शुभकामना ! जहाँ छांै, जे गर्दै छौं, सबै उत्तम गर्दै छौं होला ? माहामारीको बाँधले तिम्रा सपनाहरु नबाधुन् । तिमी ठूलो भएपछि चालक जरुर बन्नु । यो सम्वृद्धि आउँदै गरेको देशमा तिम्रो गाडी; सररर रेलीमाई छन् छन् गर्ने खोला भन्दै कुद्ने छ होला कुनै दिन । अनि म त्यो गीत गाउने काकालाई कसोरी बिर्सन सक्छू, जसले नारायण गोपालका गीत नगुनगुनाई बस्न सक्दैनथे । उनी बहुत अचम्म का थिए । अञ्जानमा देख्नेहरु उनलाई पागल प्रेमी भन्थे ।
हुन पनि उनी चिया पिउने पसलमा रक्सीको ग्लास अठ्याउँदै नारायण गोपालको गीत गुनगुनाइ बसेका हुन्थे । तर उनी सबै सँग कम बोल्थे । जहिले आफ्नै धून मा मस्त, रक्सी सँग व्यस्त । कहिले काहीँ म उनीलाई हेर्दै सोच्ने गर्थेँ, “म पनि बुढेसकालमा यस्तै हुन्छु होला ?” वहाँ आज भोली के गर्दै हुनुहुन्छ होला ? नारायण गोपालका गीत सुनेर कहिल्यै नअघाउने काकाको धीत यो माहामारीको ठप्पले मारिदियो कि कुन्नि ? कुनै उपन्यासका पात्र जस्ता देखिने काकाको आज भोली रक्सी खाने बानि छुट्यो होला ? छोरा छोरी सबै काममा व्यस्त, म बुढो कति घरमा एक्लै बस्नु भन्दै चिया पसलमा जम्काभेट गर्न आउने काकालाई आज भोलि छोराछोरीले खुबै स्नेह दिएका होलान् ? रक्सी खाने बानी पनि छुटाए होलान् ? काका, नारायण गोपालको गीत जस्तै रहेछ हौ जिन्दगी; माया गर्नेको चोखो माया पनि देखियो, वाचा गर्नेको वाचा बन्धन पनि देखियो । जिन्दगीको दोबाटोमा हामी फेरि भेट्नेछौं । आशा गर्दछू कि छोराछोरीले हजुरलाई धेरै समय दिउन, र नारायण गोपालका गीतहरु सुन्दै गर्नुहोला । हामी जस्ता कच्चाहरुलाई माया पिरतिको सल्लाह दिने हजुर नै त हो ।
के गर्दै होलान् आजभोली ती ठाकुर जो धेरै नै व्यस्त रहन्थे हरेक दिन जसो ? तर साँझपख भने चिया पसलमा जरुर देखा पर्दथे । कपाल काट्ने ठाकुरलाई पनि गफ गर्न त कस्ले सक्थ्यो र ? गफको तालमा उनलाई श्रीमती खोज्दै आउनु पथ्र्यो र केही बेर बुढाबुढीको बार देख्न पाइन्थ्यो; त्यो पनि भोजपुरी इस्टाईलमा चर्काचर्की । तर सबै भन्दा गज्जबको जोडी मेरो यो आँखाले देखेको थिएन । समाजका लागि एक उदाहरणीय जोडी हो यी दुईको । ठाकुरले दाइजो नलिइकन विवाह गरेका थिए । आज भोली कता छन् होला ? कपाल काट्ने काम त ठप्प छ ? शायद उनी आफ्नो साना साना छोराछोरी सँग समय बिताएर रमाइलो गर्दै हुन् । तर उनको पसल त बन्द छ । पैसा कसरी कमाउँदा हुन् । हरेक दिन काम गरेर पैसा बटुले पछि मात्रै राशन किन्न जाने उनको श्रीमतीले अचेल कसरी चुलोचौको गर्दी हुन् ? जति ठूलो समस्या आइपरेपनि समाधान गर्ने जुक्ति भएका हाम्रा ठाकुरको परिवारमा माहामारीले यदि समस्या लिएर आएको छ भने ठाकुरले समाधान गर्ने सामथ्र्य जरुर राख्छन् । भगवानलाई पुकार्नु पर्ने जरुरत छैन; अचेलका समाजसेवीको त झन् के कुरा गर्नु । धेरै पढेरर होला, पीँध बिर्सिने बानी परेका प्राणीहरु । हज्जारौंका कपाल काट्ने ठाकुरका हातले मेरो जीवनमा ठूलो साथ दिएको छ । म उसको व्यक्तित्व बाट खुबै प्रभावित थिएँ । हामी जस्ता युवकहरुलाई प्रेरणाका पात्र हुन ठाकुर; जो आफ्नो छोराछोरीलाई शहरमा पढाएर पछि आफ्ना ती छोराछोरीले आफ्नो गाउँ बदल्न प्रयत्न गर्छन् भनेर सपना देखिरहन्छन् । केही मूर्खहरु उनलाई गिज्याउँछन्, केही पापीहरु उनको ज्याला दिँदैनन्, केही अधर्मीहरु उनलाई अर्कै दृष्टिकोणबाट हेर्छन् । म उनलाई कुनै चस्मा नलगाई हेर्ने गर्छु । म कहिले काहीँ सोच्छु कि कुनै कुनै मानिसहरुलाई देख्दा मात्रै वा हेर्दा मात्रै एक भिन्न प्रकारको उर्जा मिल्छ । हो, ठाकुर त्यस्तै खालकोे व्यक्तित्व थिए । लक्ष्मीप्रसाद देवकोटाको मुनामदन कथाको मदन जस्तै मेहेनती ठाकुरलाई आज खुबै सम्झिरहेछू ।
नेपाल यातायात नचढेको पनि उनन्साठी दिन जति हुन लागेछ । नियमित चल्ने नेपाल यातायातमा दोस्ती भएको थियो वहाँसँग । शारीरिक रुपमा अपांगता भएका व्यक्ती उनका एउटा खुट्टा चल्दैन । जनयुद्धका घाइते योद्धा । यिनमा कोही कसैप्रति गुनासो छैन । वहाँको सधैं सकारात्मक सोच राख्ने स्वभावले मलाई तान्यो । अनौठो कुरा त के भने नेपालमा छ्याप्छ्याप्ती अपांगता भएका व्यक्तीहरुका निम्ती काम गर्ने संघ संस्थाहरू खुली रहेको अवस्थामा ओखलढुङ्गामा अहिलेसम्म यो क्षेत्रमा काम गर्ने संघसंस्था खुलेका रहेनछन् । कुनै पनि एनजीओ, आइएनजीओको आँखा उनको क्षेत्रमा परेको रहेनछ । कसैले सहयोग गरिदिए आफ्नो क्षेत्रमा गएर संस्था स्थापना गरी आफु जस्तै अपांगता भएका व्यक्तीहरूका निम्ती सेवा गर्ने हुट्हुटी देख्दा मैले ओखलढुङ्गा जाने निधो गरेँ । तर सोचे जस्तो भएन । माहामारीले त्यो सपना अहिलेलाई साकार हुन दिएन । धनबहादुर दाई, लकडाउनले तपाईका सोचहरू लक नहोस् । लकडाउन खुले पछी ओखलढुङ्गा हामी जरुर जानेछौँ । अहिले काठमाण्डूमा बसी रहँदा तपाई जस्ता कैयन अपांगता भएका व्यक्तीहरुलाई कती समस्या पर्यो होला ? न यस्तो कठीन परिस्थितिमा सरकारले मासिक दिँदै आएको सामाजिक सुरक्षा भत्ताको कटौतीले यसैबाट गुजारा चलाएकाहरूको के बित्ने हो ? मैले चाहेर पनि सडकमा विरोध गर्ने अवस्था छैन तर सामाजिक सञ्जाल र मेरो पहुँचमा रहेका ठाउँहरूमा दवाब दिएर तपाई जस्ताको जीवन जोगाउन पहल भने निरन्तर गरी रहने छू ।
अब एकपटक अपांगता भएका व्यक्तीहरू जुर्मुराउने बेला आएको छ । महामारी पछी युगले युगान्तकारी परिवर्तन गर्छ भनीरहँदा सरकारले धनबाहादुर दाई जस्ता व्यक्तीहरूलाई नजरअन्दाज गर्न मिल्दैन । नेपाल यातायातको गन्तव्यको सीमा छ । तर त्यस नेपाल यातायातमा चढ्ने हामीहरुको गन्तव्यको सीमा छैन ।
हो, कहिलेकहीँ परिस्थिति जरुर आउँछ । तर निराकारको पछि दुरदर्शी भएर भाग्न चाहीँ छोड्नु हुँदैन । यस्तो कुरा गरीरहँदा म सम्झन्छू नेपाल ल क्याम्पसमा पढ्ने साथी जो समाज सेवामा अनवरत लागीरहेकी थिईन् । सडकमा छटपटाई रहेका बालबालीका हुन् वा वृद्ध बा–आमा उनीहरूको सेवा गर्न सदैव तत्पर । सडकमा कोही बिरामी, घाईते उपचार नपाएर छटपटाई रहेको देख्यो कि तुरून्त आफै अग्रसर भई अस्पतालसम्म पुर्याउन अग्रसर भएको देख्दा म पनि हात र साथ दिन अग्रसर हुन्थेँ ।
साथी, माहामारीले ती टुहूराहरूको हालत कस्तो भयो होला ? सडक पेटीमा रहेका भोकाहरू जो तिमीले खाना ल्याईदिने आशमा बिहानी कुरेर बस्थे अहिले तिनीहरूले पेट भरिने गरी खान पाएहोलान् कि नाई? बालगृहको अवस्था यो माहामारीले कस्तो भयो कुन्नी ? मलाई लाग्छ तिम्रो मानसपटलमा यस्तै प्रश्नहरु उब्जीरहे होलान् । यो भनिराख्दा मैले वा तिमीले बिर्सिनु हुँदैन कि सरकारले केही गर्दैन ? सरकारले सबैको भलोको लागि पाइला चलाइरहेछ । आफ्नो भूमिका निर्वाह गरिरहेछ । कतै पाइलाका डोब देखिएको छ त कतै स्वार्थीहरुको दुस्साहसले गर्दा पाइलाको डोब मेटिएको छ । याद गर कि निरञ्जन र निश्चल कहिल्यै मेटिँदैन । मेटाउन चहानेहरु पनि आशा गराैं कि नभेटिउन् ।
मेटिनु त सबैलाई पर्छ यस दुनियाँबाट, तर नमेटिने इतिहास लेखेर जानु जरुर पर्छ ।