बार्सिलोनाका निमित्त ६७२ गोल गर्ने मेस्सी क्लबमा नरहने निश्चित
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १३८ पटक पढिएको
अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले स्पेनिस फुटबल क्लब बार्सिलोना छाड्ने निश्चित भएको छ । सो क्लबले आधिकारिक वक्तव्य जारी गरी यसको पुष्टि गरेको थियो ।
लियोनल मेस्सीले ५ अगष्ट २०२१ मा क्लबसँग नयाँ सम्झौतामा हस्ताक्षर गर्ने बताइएको थियो । तर, आर्थिक र संरचनागत अवरोधले यो हुन नसकेको क्लबका अध्यक्ष ज्वान लापोटाले जनाएका थिए ।
लियोनल मेस्सीले क्लबका लागि दर्जनौं रेकर्ड बनाएका छन् । मेसीले बार्सिलोनाका लागि सर्वाधिक ६७२ गोल गरेका छन् । उनले बार्सिलोनामा रहँदा ३५ उपाधि जिते । जसमा १० ला–लिगा र चार च्याम्पियन्स लिगका उपाधि छन् । उनी ला–लिगाका सर्वाधिक ४७४ गोल गर्ने खेलाडी पनि हुन् । मेस्सी फुटबल इतिहासमै सबैभन्दा बढी (६ पटक) ब्यालिण्डोर जित्ने खेलाडी हुन् । उनले सन् २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा ब्यालिण्डोरको उपाधि जितेका हुन् । ब्यालिण्डोर फुटबल जगत्को सबैभन्दा उत्कृष्ट उपाधि हो र यसको अर्थ हो गोल्डेन बल ।
मेस्सीले बार्सिलोनाबाट सिनियर फुटबल खेल्न थालेको १७ वर्ष पूरा भइसकेको छ । मेस्सी २००० मा १३ वर्षको उमेरमा बार्सिलोनाको एकेडेमीमा आबद्ध भएका थिए भने २००४ मा सिनियर करिअर सुरू गरेका थिए । मेसीले गत सिजनमा बार्सिलोनाका लागि अन्तिम खेल खेलेका थिएनन् । उनी कोपा अमेरिका अघि छुट्टी मनाउनका लागि जाँदा एइबार विरुद्धको खेल गुमाएका थिए ।
सिजनमा बार्सिलोना ला–लिगामा तेस्रो भयो । बार्सिलोना २००८ पछि ला–लिगामा तेस्रो भएको थियो । बार्सिलोना तेस्रो भए पनि मेसी ला–लिगाको सर्वाधिक गोलकर्ता बनेका थिए ।
बार्सिलोनाको वक्तव्यमा भनिएको छ, ‘बार्सिलोनाले मेस्सीलाई आजसम्म गरेको योगदानका लागि आभार व्यक्त गरेको छ । साथै भविष्यमा उनको व्यक्तिगत र व्यवसायिक जीवनका लागि हार्दिक शुभकामना पनि दिएको छ । १८ वर्षपछि मेस्सी सो क्लबबाट बाहिरिएका छन् । क्लबको एकेडेमीमा हुर्किएका मेस्सी अब फ्री ट्रान्सफरमा अन्य क्लब जानेछन् ।