“एसएसबीले तुइन काटिदिएको मैले देखेको हुँ”—कल्याण सिंह धामी

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ४९७ पटक पढिएको

व्यास गाउँपालिका– २ मालघाटमा महाकाली तर्ने क्रममा एसएसबीले तुइन काटिदिँदा सदरमुकाम खलंगा आउने क्रममा माल खानदानका ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएका छन् । हाल उनको शव नभेटिए पछि परिवारले कुशको शव बनाई अन्तिम संस्कार गरिसकेका छन् ।

शुक्रबार बिहान गाउँबाट दार्चुला सदरमुकाम आउने क्रममा उनी नदीमा तुइन तर्दै थिए । महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तुइन काटिदिएको स्थानीय  कल्याण सिहं धामीले बताएका थिए । ‘भारततर्फ पुग्ने बेला एसएसबीले एक्कासी तुइन काटिदियो,’ उनले भने, ‘छेउमा पुग्न तुइनको लगभग अन्तिक एक डेड मिटर मात्र बाँकी थियो तर एसएसबीले तुइन काटि दिएपछि जय सिंह धामी महाकालीमा खसेका थिए । लगभग केही समय पानीमा बगेका हामी सबैले देखेको पनि हो र उनी त्यसपछि बेपत्ता भएका हुन् ।’

५–६ जना स्थानीय सामान लिन भारतको बाटो हुँदै दार्चुला गइरहेका थिए । प्रत्यक्षदर्शी धामीले भने, ‘५ ६ जना तुइनबाट भारत तरेका थिए । जयसिंह तर्ने वेला एसएसबी पुगेर तुइन काटिदियो । त्यसपछि उनको अत्तोपत्तो भएन ।’

धामी बेपत्ता भएपछि स्थानीय आक्रोशित छन् । नेपालतर्फ सडक नहुँदा व्यास क्षेत्रका स्थानीय दार्चुला सदरमुकाम खलंगा आउनका लागि भारतको बाटो भएर महाकाली नदीमा तुइन तरेर आउनुपर्ने बाध्यता छ । तुइनबाट खस्दा बेलाबेला यस्ता घटना हुने गरेका छन् ।

सरकारले तुइनमुक्त कार्यक्रमअन्तर्गत तुइन भएको ठाउँमा पुल बनाउन योजना सञ्चालन गरेको भए पनि पुल निर्माण अलपत्र छ । व्यासका नागरिकहरू खाद्यान्न, औषधि र आवतजावत यही तुइनमार्फत गर्दै आएका छन् ।

बेलाबेला एसएसबीले तुइन काटिदिने गरेको भए पनि स्थानीयले तुइन पुनः बाँध्ने गरेका छन् । अहिले घटनास्थलमा दुम्लिङ र सुनसेरा प्रहरी चौकीबाट प्रहरी र दुम्लिङबाट सशस्त्र गइरहेका छन् । बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्रबहादुर चन्दले बताएका थिए ।

जय सिंह धामी सदरमुकाम पुगेर बस चढी काठमाडौं र त्यहाँबाट विदेश जाने यात्रामा थिए । महाकाली तर्न जयसिंह तुइनमा झुण्डिए । जयसिंहलाई वारी तार्न त्यही बेला कल्याणसिंहले तुइन सर्काउँदै थिए । तुइनमा चढेको देखेपछि उता भारतीय सशस्त्र सीमा बल (एसएसबी) का जवान तुइनको लट्ठा फुस्काउँदै थिए । ‘उताबाट अचानक रूखको लट्ठा फुस्काउन थाले । हामीले होहल्ला गर्दागर्दै तुइन फुस्कियो । जयसिंह तारसहित खोलामा खसे र बेपत्ता भए,’ कल्याणसिंह भन्छन् ।

वारि काठको खम्बा र पारि रूखको हाँगामा लट्ठा बाँधिएको थियो । रूखमा बाँधिएको तुइन फुकाल्दा घटना भएको भन्नेमा कल्याणसिंह प्रस्ट छन् । जयसिंहले तुइनमा चढ्ने तयारी गर्दागर्दै पारिपट्टि तुइन बाँधेको ठाउँनजिकै एसएसबीका एक जवान देखिए पनि वारिपट्टि शंका भइसकेको थियो । किनकि यस्ता तुइन बेलाबेलामा एसएसबीले काट्दै आएको थियो । ‘तर, मान्छे नै झुण्डिएका बेला तुइन काट्ला भनेर सोच्नै सकिएन, त्यही भूल भयो,’ कल्याणसिंह भन्छन् ।

उक्त घटना प्रति दुख प्रकट गर्दै स्थानीय प्रशासन एवम् सुरक्षा निकायहरुलाई सो घटनाको वास्तविकता पत्ता लगाउन  आवश्यक निर्देशन दिई सकेको र घटना को वास्तविक सत्य तथ्य जानकारी तथा खोज उद्धारको लागि जिल्ला प्रशासन कार्यलय, दार्चुला बाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल ४४ नं गण र राष्ट्रिय अनुसन्धान विभाग टोली खटाइ घटना स्थलमा आवश्यक जाँचबुझ गर्ने कार्य भइरहेको छ ।

उक्त्त घटनाको अनुसन्धान तथा छानविनको क्रम जारी रहेकाले सत्य तथ्य पुष्टि भइ नसकेको अवस्थामा भ्रम सृजना हुनेगरि सूचना÷समाचार प्रकाशन नगरिदिनुहुन सम्बन्धित सबैमा गृह मन्त्रालयले अनुरोध गरेको छ ।

Photo Courtesy – Nepali Post

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित