मेलम्चीका सपना र आशाहरु
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २३९ पटक पढिएको
सुभाष चौलागाईं
सडक मानव सभ्यताको सफलताको द्योतक हो । सडकले शहर मात्र नभएर मान्छेका भावना र सपनालाई पनि जोडेको हुन्छ । र मानव, सडकहरुमा सफलताको अंकुरण खोज्न विभिन्न दोकान थाप्छन् ।
सङ्गम बुढा मगरको मेलम्ची बजारमा रहेको मोटर साइकल वर्कशप त्यही सपनाको एउटा दोकान हो । मोटर साईकल र गाडीको पार्टसको दोकानमा, यात्रा गर्ने यात्रीहरुलाई सहजता पुर्याउन उनी र उनका मेकानीक साथीहरु दिन रात मिहिनेत गर्दथे । मोटरसाईकल र गाडी मर्मत गर्ने उक्त दोकानमा यात्रीहरु आप्mना गाडीका विभिन्न समस्यालाई समाधान गर्दथे ।
तर जब २०७८ असार १ गते अकल्पनीय बाढी र पहिरो आयो तब मेलम्चीको सडकका साथ साथै थुप्रै घरहरु पुरिए । सङ्गम बुढा मगर र उनका मेकानीक साथीहरुले मर्मत गर्ने लगभग दर्जन मोटरहरु पनि माटोमा बिलीन हुन पुग्यो । भोली बुझाउने वाचा गरेका संगमको भोलीलाई प्रकृतिले कुरेन । सब तहसनहस पारिदियो । राती आएको बाढीले त्रसित संगम बिहानीको व्यग्र प्रतीक्षामा थिए । सबेरै झिसमिसे बिहानीमा हतासिँदै आफ्नो गाडी वर्कशप पुगे । तर त्यहाँ माटोको थुप्रो भन्दा बाहेक संगमले अरु केही भेटेनन् । राती नदीको पानीमा माटो मिसिएर आएपछि त्यसको बाटोमा आउने सम्पूर्ण घर, रोड, पाटी आदिलाई सल्र्लकै निलेको थियो । संगम विलखबन्दमा परे, भावशून्य भए । उनका आँखा रसाए र टिलपिल गर्दै सोचमग्न भए ।
हालसाल ऋण गरेर ल्याएका सामानहरु, मर्मत सकाएर बुझाउनु पर्ने साधनहरु, बिक्रीमा रहेका केही साधनहरु, केही महत्वपूर्ण कागजपत्रहरु, र केही खुद्रा पैसाहरु दोकानसँगै बगे । अलमल्ल संगम शायद आफ्नो जीवनको सम्पूर्ण मिहिनेत इतिश्री भयो भन्ने मुद्रामा थिए । थोरै आश बोकेका संगमले गुहार माग्न सबै तिर फोन घुमाउन थाले । के गर्ने? कसो गर्ने? कहाँ जाने? अकमक्क !
तर संगमले हार मानेनन् । एस्काभेटरको जोहो गरे । एस्काभेटरले खोतलेको ठाउँमा वल्लो सटरमा पार्टसहरु र पल्लोमा मर्मत गर्ने सामानहरु निकम्मा भएर बसेका थिए । लकडाउन सात गते हुने भएकाले, अनि ब्यांकको क्लोजिङ् पनि लाग्ने भएकाले संगम अघिल्लो रात नै साँढे आठ बजे काठमाडौं गएर राति एक बजे आफ्नै गाडीमा सामान ल्याइ पुर्याए अनि भोलीपल्ट फेरि अर्को एक गाडि मगाएका थिए । तर दुर्भाग्यवश ती सबै सामानहरु सोत्तर भए र सपना चक्नाचुर ।
…………………………………..
ना ४ ख २३० को “नेपाली हामी रहौंला कहाँ नेपालै नरहे” लेखिएको मेलम्ची देखि उक्त बस, यात्रीहरु बोकेर काठमाडौं सम्म आउने र यात्रीहरु बोकेर गाउँ घर पस्ने गर्दथ्यो । तर बाढीका कारण सब बिलिन भयो ।
“सँधैभरी चक्का जाम, बन्द अनि हड्ताल, ढुंगा हान्ने कुर्सी तान्ने, यही हो नयाँ नेपाल,” लेखिएको व्यंग्यात्मक ट्रक यहाँका सडकमा दौडने गर्दथ्यो; बाढीले बगायो । भौतिक क्षतिको कुनै लेखाजोखा छैन । इन्द्रावती र मेलम्ची खोलाको संगम उर्लिएर संगम बुढामगर जस्ता धेरै व्यक्ति हरुलाई क्षणभंगुर बनाइदियो ।
हिजो अबेर सम्म बाइक नबनेर काठमाडौं हाँकिन नपाएका सुमन, बिहान उठेर हेर्दा बाटो नै गायब थियो । बगाएर लग्यो उनको साधन र उनका सपना पनि बाढीले । काठमाडौं देखि रासनका बिक्री गर्ने सामान आफ्नो पसल सम्म सुमनले ल्याउनै पाएनन् ।
यस थलोमा कर्म गर्न भिन्न भिन्न पेशा गर्ने मानिसहरु आउँथे, जान्थे, आउँछन्, जान्छन्, छन् र रहन्छन् पनि । कृषि व्यवसायीहरु, पर्यटन व्यवसायीहरु, भवन निर्माण गर्ने कन्ट्राक्टरहरु, हाइड्रो पावोरमा रहेका कार्याधिकारीहारु, मेलम्ची खानेपानीमा रहेका कर्मचारीहरु आदि सबै कार्यचक्रमा व्यस्थ रहन्थे । तर यस व्यवस्थापनमा केही क्षण अल्पविराम लागेको छ ।
………………………………….
तेह्रथुमको साबिक खाम्लालुङ वडा नं. ९ स्थायी ठेगाना भई हाल दमक – ३ (ढुकुरपानी) घर भएका ५२ वर्षीय होम प्रसाद घिमिरे सिनो हाइड्रोपावरमा कार्यरत थिए । यस्तो विपत्ति आएको सुनेपछि परिवारले होम प्रसादलाई निरन्तर फोन घुमाउन लागे । केही पत्तो लागेन । उनको भदा भाई सुलभ राज बराल र आफन्त जन खोजी निति गर्न झापा देखि ४ गते रातारात काठमाडौं हँुदै मेलम्ची आइपुगे । आउँदै गर्दा भेटिनु हुन्छ कि भन्ने अनगिन्ति अपेक्षा, आशा र अभिलाषा बोकेर उनीहरु यस ठाउँमा आइपुगे । यही इच्छा, मनोभाव बोक्दै भोक तिर्खा सबै भुलेर, मेलम्ची पुग्दा दर्दनाक दृश्य आँखा अगाडि देखापर्यो । उच्च सैनिक र पुलिसको सुरक्षाले गर्दा एता उता जान दिइएको थिएन । घटना भएको हेलम्बु सम्म त पुग्ने अवस्था पनि थिएन ।
एता उता हेर्दै गर्दै गर्दा भेटिनु हुन्छ होला भन्ने आशा थियो । जिवितै हुनुहुन्छ होला, कतै ओत लागेर बस्नु भएको होला भन्ने पनि आशा थियो । तर सबै आशा र आकांक्षा चक्नाचुर भयो । होम प्रसादको कुनै अत्तो पत्तो लागेन ।
त्यसपछाडि शव त भेटिएला नि भन्ने आशा जाग्न थाल्यो । तेही अपेक्षामा बराल लगायत सपरिवार काठमाण्डू फर्किए । केही दिन काठमाण्डूमा बसेर परिवार सँगको भेटघाट, कुराकानी पछि फेरि चौतारा, सिन्धुपाल्चोक तिर लागे ।
बाढीले गर्दा त्यो ठाउँमा ४० मिटर बालुवाले पुरेको अवस्था अझै थियो । तैपनि शव फेला परिहाल्छ कि भन्ने आशा सहित प्रहरीहरुलाई परिवारले हुलिया बतायो । तर अझै पनि केही मेसो आएन । दमक नगरपालिकाका मेयर, उपमेयर सँगको सल्लाह अनुसार मुचुल्का उठाउने कुरा गर्दै कागजी प्रक्रिया अनुसार मृत्यु दर्ता गरियो । समन्वयको लागि चिठ्ठी बनाइयो, सिनो हाइड्रो कम्पनीलाई इन्स्योरेन्सका लागि प्रक्रिया अगाडि बढाइयो । परिवारको सल्लाह अनुसार दाजुभाई कुशको प्रतीकात्मक स्वरुप बनाएर होम प्रसाद घिमिरेको दाह संस्कार गर्ने कर्मतिर लागे र अन्तिम संस्कार पुरा गरियो ।
यो अवस्था त कम्पनीमा कार्यरत कर्मचारी होम प्रसाद घिमिरे को हो, त्यहाँका स्थानीयको त अझै दर्दनाक छ समस्याहरु । बेपत्ता भएका र मृत भएकाहरुको अझै तथ्यांक नै छैन । कहिले लास भेटिन्छ खोला किनारामा, कहिले अन्य वस्तुमा । गाँस, बास र कपासको झिनो सपना फेरि बुन्दै छन् मानिसहरु । फेरि बाढी आयो भने के गर्ने भन्ने पिर पनि त छ ।
यस बाढी पहिरोमा परेर २० जना मानिस बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको थियो । यस सूचीमा दुई चिनियाँ नागरिक र एक भारतीय नागरिक पनि थिए । खबर आनुसार दुई चिनियाँ नागरिक मृत अवस्थामा नेपाली सेनाले फेला पारेको थियो र भारतीय नागरिकको भने पत्तो लागेको छैन । नेपाली होम प्रसाद घिमिरे भेटिनु भएन । यस बीचमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले ८४ जनाको उद्धार गरिसकेको बताइएको छ । सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु नगरपालिकामा ९ सय जना भन्दा बढी प्रभावित भएको सरकारी तथ्यांकले देखाएको पनि थियो । सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु नगरपालिका, जुगल गाउँपालिका र पाँचपोखरी गाउँपालिका पनि उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग मेलम्ची बाढी प्रभावितले तत्काल तटबन्धको व्यवस्था मिलाउन माग गरेको थियो । मेलम्ची बाढी प्रभावित सागरकुमार श्रेष्ठको नेतृत्वमा आएको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटेर मेलम्ची बाढी प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन तत्काल तटबन्धको व्यवस्था गर्न माग गरेका थिए, र प्रधानमन्त्री देउवाले मेलम्चीवासीले राखेको मागका बारेमा सरकार गम्भीर रहेको स्पष्ट पारे ।
तथ्य, सत्य, घटना, उद्धार, खोजिनिति, दुख, पीडा, मृत्यु; यी सबैलाई थाती राखेर मेलम्ची बजारलाई व्यवस्थापनको आलोक देखि हेर्ने हो भने धेरै कुराहरु प्रस्ट देखिन्छ । जसरी शरीरमा रगत सफा हुन पर्दछ त्यसरी नै मानव सभ्यतामा नदी खोलानाला सफा हुन जरुरत छ, तब सभ्यतामा समृद्धि आउँछ । मानिस भएर जिउनको सार हुन्छ । आपत्ति बाट नै आविष्कार हुन्छ भन्ने गर्दछन् बुद्धिजिविहरु । यस विषम आपत्तिले एक नयाँ आयाम लिन जरुरत छ । बगर बनेका मेलम्चीका खेत र फाँटहरुमा यस असारमा त किसानहरुले अन्न धान रोप्न पाएनन् । अर्को वर्ष पक्कै रोप्न पाउँछन् भन्ने आशा राखौं ।
सङ्गम बुढा मगर जस्ता भिन्न भिन्न पात्रहरु मेलम्चीमा अझै रनभुल्ल छन् यस क्षणभङ्गुर जीवन देखी । अब फेरि उठ्नु छ सबैलाई । यस अकल्पित बाढी, पहिरो देखि थचारिएका मानिसहरु उठ्न सबैको साथ चाहिन्छ । बुद्धिजिविहरुले कुरा गरेको सुन्न पाइन्छ, यदि संसारका सबै मानिसहरुले एक छाक नखाएर अन्न दान गर्ने हो भने भोकमारी यस संसार देखि हट्छ । यस सानो देशको सानो कुनामा एउटा गाउनै प्रभावित भएकाले यसका उद्धारमा केही साना साथ र प्रयासमा सबै जुट्ने हो भने समाधान निकै नजिक छ ।