नेपाल समूहलाई हस्ताक्षर फिर्ता लिन दिएको अल्टिमेटम सकिँदै

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २९३ पटक पढिएको

नरेश भाट

प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ७ गते दोस्रो चोटी प्रतिनिधि सभा विघटन गरेका थिए । प्रतिनिधि सभा विघटन गरेपछि नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहका २३ जना सांसदले सर्वोच्च अदालतमा उपस्थित भएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि हस्ताक्षर गरेका थिए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गत शुक्रबार बसेको केन्द्रीय कमिटिको बैठकमा नेपाली काँग्रेसका सभापति शेर बाहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि गरेको हस्ताक्षर फिर्ता लिन वरिष्ठ नेता नेपाल समूह लाई अल्टिमेटम दिएका थिए । नेपाल समूहलाई दिएको हस्ताक्षर फिर्ताको अल्टिमेटमको समय आज साँझ ५ बजे सकिँदैछ ।

नेपाल समूहले हस्ताक्षर फिर्ता नलिए अध्यक्ष केपी शर्मा ओलीले सम्पूर्ण २३ जना कार्यकर्ताको एमालेको सधारण कार्यकर्ता समेत नरहने गरी बर्खास्त गर्ने चेतावनी दिएका छन् ।

अलिटमेटमको समय केही घण्टा मात्र बाँकी रहेका बेला माधव नेपाल समूहले हस्ताक्षर फिर्ता नलिने प्रतिक्रिया दिई सकेको छ ।
ओली र नेपाल समूहका दोस्रो तहका नेताहरुको सक्रियातामा पार्टी एकताको लागि वार्ता भइरहे पनि दुवै नेताका आ—आफ्ना अडानका कारण एकता प्रभावित हुँदै आएको छ ।

उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालको इगो शान्त नभएसम्म पार्टी एकता सम्भव नरहेको जानकारी दिएका छन् । हिजो बसेको राष्ट्रिय सभाको बैठकपछि पत्रकारहरु सँग कुराकानी गर्दै गौतमले दुई जनामा भएको इगो  र रिस त्यागेर पार्टी एकताको लागि दुवै नेता सकारात्मक हुनुपर्ने बताएका छन् । तब मात्र दोस्रो तहका नेताको प्रयास पनि सार्थक हुने भन्दै दुवैलाई मिलाउन आफू लागि परेको बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित