मध्यभोटेकोशीको साधारण शेयर बिक्री स्थगित
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ४१८ पटक पढिएको
कोरोना कहरमा स्वास्थ्य मापदण्ड समेत पालना नगरी साधारण शेयर बिक्री गरेको भन्ने गुनासो आएपछि मध्यभोटेकोशी जलविद्युत् कम्पनीले अर्को सूचना नआएसम्मका लागि शेयर बिक्रीको कार्य स्थगित गरेको छ ।
नेपाल धितोपत्र बोर्डको वैशाख ५ गतेको स्वीकृति बमोजिम कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका वासिन्दाका लागि साधारण शेयर बिक्री गरेको थियो ।
कम्पनीले वैशाख २१ गतेदेखि सिन्धुपाल्चोकका लागि कूल ६० लाख कित्ता शेयर बिक्री थालेको थियो ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको बुधवारको आग्रहअनुसार बिहीवारदेखि शेयर बिक्री स्थगित गरिएको कम्पनीले जनाएको छ । कम्पनीले ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक तथा अन्य विभिन्न ६ कम्पनीलाई सहनिष्काशन तथा बिक्री प्रबन्धक तोकेको थियो ।
कूल ६० लाख कित्ता शेयरमध्ये सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाँउपालिका–१ र ५, बाह्रबिसे नगरपालिका–५ र ६ का वासिन्दाका लागि कूल १८ लाख कित्ता र आयोजना प्रभावित क्षेत्रबाहेक सिन्धुपाल्चोकका अन्य क्षेत्रका वासिन्दाका लागि ४२ लाख कित्ता शेयर बिक्री गर्न लागेको छ ।
निषेधाज्ञा जारी रहेको अवस्थामा शेयर बिक्री गर्नु मनासिब नभएकाले तत्कालका लागि स्थगित गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामगोपाल शिवाकोटी र बिक्री प्रबन्धकका तर्फबाट ग्लोबल आइएमई क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत पराग विष्टले बिहीवार संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीले यसअघि कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि साधारण शेयर बिक्री गरिसकेको छ । तेस्रो चरणमा भने आमसर्वसाधारणलाई साधारण शेयर बिक्री गर्ने तयारी गरिएको छ ।
कम्पनीले सिन्धुपाल्चोकमा १०२ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । कम्पनी चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी हो ।