एमालेले समर्थन फिर्ता लियोः कर्णाली प्रदेशको माओवादी केन्द्रको सरकार धरापमा
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ३४१ पटक पढिएको
नरेश भाट

कर्णाली प्रदेशको प्रदेश सरकारलाई दिएको समर्थन नेकपा एमालेले फिर्ता लिएको छ । वि.सं. २०७४ सालको आमनिर्वाचनमा गठबन्धन गरेर नेकपा एमाले र नेकपा माओवादी केन्द्रले भाग लिएका थिए । आमनिर्वाचनको लागि गठबन्धन गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच ६०–४० को पदीय भागबण्डाको सर्त राखिएको थियो । गठबन्धन गरेर नेकपा एमाले र नेकपा माओवादी केन्द्रले ७४ सालको आमनिर्वाचनमा झन्डै दुई तिहाई नजिकको जीत हात पारेका थिए । त्यसै अन्तर्गत माओवादी केन्द्रको भागमा प्रदेश सरकारमा सुदूरपश्चिम प्रदेश र कार्णाली प्रदेश परेको थियो । एमालेको भागमा भने प्रदेश नम्बर १, प्रदेश नम्बर २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश परेका थिए ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच वि.सं. २०७५ सालमा पार्टी एकता गर्दै निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी नेकपा नामको पार्टी दर्ता भएको थियो । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नेकपा बदर गर्दै अदालतले तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रलाई नै बिउँताएकोे थियो ।
पछिल्लो समयमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीचको धुर्वीकरणले गर्दा देशको वर्तमान राजनीतिमा अस्थिरताले गर्दा देशको राजनीति भासिदै गएको छ । फलस्वरुप कर्णाली प्रदेशको सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लिएको हो ।
एमाले संसदीय दल कर्णाली प्रदेशको बुधवार बसेको बैठकले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । एमाले र माओवादी केन्द्र बीच नेकपामा एकीकरण हुनुअघि एमालेको समर्थनसँगै माओवादी केन्द्रबाट महेन्द्रबहादुर शाही मुख्यमन्त्री बनेका थिए । कर्णाली प्रदेश सरकारमा एमालेका तीन जना मन्त्री छन्, उनीहरूलाई पनि फिर्ता हुन निर्देशन दिइएको छ ।
एमाले संसदीय दल कर्णाली प्रदेशको बुधवार बसेको बैठकमा १९ एमालेका सांसदमध्ये १० जना मात्र सहभागी भएका थिए । एमालेले आफ्नो समर्थन फिर्ता लिए सँगै शाहीको पद गुम्ने पक्का भएको छ । कर्णाली प्रदेशमा सरकार बनाउन २१ जना सांसदहरुको आवश्यकता पर्दछ ।