नेकपा एमालेले वैशाख २५ गते निर्वाचनको घोषणापत्र सार्वजनिक गर्ने

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३१० पटक पढिएको

नेकपा (एमाले)ले वैशाख २५ गते स्थानीय तहको निर्वाचनको घोषणापत्र सार्वजनिक गर्ने भएको छ । सोमबारदेखि काठमाडौंमा सुरु भएको पार्टी पोलिटब्युरोको बैठकले स्थापना दिवसको अवसरमा स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्ने निर्णय गरेको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले पार्टी स्थापना दिवसका अवसरमा सबै स्थानीय तहको चुनावी घोषणापत्र र प्रतिबद्धतापत्र सार्वजनिक गर्ने निर्णय भएको जानकारी दिए ।

त्यस्तै एमालेले स्थानीय तहको निर्वाचनमा उम्मेदवार टुंगो लगाउने विधि र मापदण्ड पनि बनाएको छ । स्थानीय तहका वडा अध्यक्ष र वडा सदस्यको सिफारिस वडा समितिले गर्नेछ र निर्णय नगर समितिले गर्नेछ । त्यसैगरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा उम्मेदवार टुंगो लगाउन गाउँ समितिले सुझाव दिने र सोही आधारमा सम्बन्धित जिल्ला समितिलाई सिफारिस गरी प्रदेश समितिले निर्णय गर्नेछ ।

नगरपालिकाको मेयर र उपमेयरको बारेमा पनि प्रदेश कमिटीले निर्णय गर्ने प्रचार विभाग प्रमुख गुरुङले बताए । उपमहानगरपालिका र महानगरका मेयर र उपमेयर प्रदेश समितिको सिफारिसमा केन्द्रीय समितिले तय गर्नेछ । विगतका कामको मूल्याङ्कन, दक्षता, विकास र सुशासनप्रतिको दृष्टिकोण नै उम्मेदवार छनोटको प्रमुख मापदण्ड भएको एमालेले जनाएको छ । त्यसैगरी चुनावमा लोकप्रियता र जित सुनिश्चित गर्नु अर्को मापदण्ड हुने गुरुङले बताए ।

बैठकले प्रदेश र जिल्ला कमिटीलाई पनि पार्टीमा प्रवेश गर्नेहरुको व्यवस्थापनका लागि आवश्यक विभाग गठन गर्न अनुमति दिने निर्णय गरेको छ ।

 

 

 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित