अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपाललाई ४८ अर्ब ऋण उपलब्ध गराउने

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २२० पटक पढिएको

 

अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ) ले नेपाललाई करिब साढे ४८ अर्ब रुपियाँ (४० करोड अमेरिकी डलर) ऋण सहुलियत उपलब्ध गराउने भएको छ । ऋण प्रदान गर्ने विषयमा कोष र नेपाल सरकारका अधिकारीबीच पहिलो चरणको समझदारी भएको आईएमएफले जनाएको हो । 

कर्मचारी तहबाट सहमति भए पनि कोषको व्यवस्थापन र कार्यकारी बोर्डले अनुमोदन गरेपछि नेपालले यो ऋण सुविधा पाउनेछ । कोषको विस्तारित ऋण सुविधा (ईसीएफ) अन्तर्गत उपलब्ध हुने उक्त ऋण ३८ महिने पुनरोत्थान कार्यक्रममा कार्यान्वयन हुने जनाईएको छ ।

विदेशी मुद्राको सञ्चितिमा सहयोग गरेर वित्तीय क्षेत्रको अनुगमन र नियमन सुदृढ पार्दै अर्थतन्त्र र वित्तीय क्षेत्रको स्थायित्वका लागि ऋण उपलब्ध हुने बताईएको छ । त्यसैगरी, दिगो आर्थिक वृद्धि गर्दै गरीबी न्यूनीकरण, भष्ट्राचार नियन्त्रण र सुशासनका लागि यो ऋण सहयोगको रकम उपयोग हुने कोषले जनाएको छ ।

कोषका रोबर्ट ग्रेगोरी नेतृत्वको मिसनले अक्टोबर, नोभेम्बर र डिसेम्बरमा नेपाली अधिकारीसँग विस्तारित कर्जा सहयोग (ईसीएफ) ऋण प्रदान गरिने विषयमा छलफल गरेको थियो । विगत दुई महिनायता चार पटक काठमाडौँ भ्रमण गरेको टोलीका नेतृत्वकर्ता  ग्रेगोरीका अनुसार आगामी केही हप्तामै बोर्डले पनि यो ऋणको सम्बन्धमा टुङ्गो लगाउनेछ ।

कोषले सोमबार जारी गरेको विज्ञप्तिअनुसार कोभिडका कारण आर्थिक गतिविधि सुस्ताउँदा कोषलगायत अन्य विकास साझेदारहरूबाट प्राप्त आकस्मिक सहयोगले वित्तीय सङ्कट घटाउन सहयोग गरे पनि महत्वपुर्ण आर्थिक र बाह्य वित्तीय सहयोग अझै केही वर्षका लागि आवश्यक रहने उल्लेख छ ।

नेपालले कोषसँग लामो समयपछि यस्तो ऋण सहायता लिन लागेको हो । सामान्यतया देशलाई आर्थिक स्रोतको चरम अभाव भएपछि कोषसँग यस्तो सहयोगका लागि अनुरोध गर्ने गरिन्छ । भुक्तानी सन्तुलनको स्थिति बिग्रिएर विदेशी मुद्राको सञ्चितिमा चाप पर्न थालेपछि कोषले सरकारलाई यस्तो सहायता उपलब्ध गराउँछ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित