चीनमा राष्ट्रिय खेलाडीहरूलाई ट्याटु खोप्न प्रतिबन्ध /ट्याटु भए मेट्न निर्देशन

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १९७ पटक पढिएको

 

चीनले राष्ट्रिय टोलीका लागि फुटबल खेल्ने खेलाडीहरूलाई ट्याटु खोप्न प्रतिबन्ध लगाएको छ । चिनियाँ खेलकुद प्रशासन कार्यालयले राष्ट्रिय स्तर र युवा टोलीमा ट्याटु भएका नयाँ खेलाडीहरू राख्न कडा प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ ।

कार्यालयले समाजमा राम्रो उदाहरण प्रस्तुत गर्न यस्तो प्रतिबन्ध लगाइएको जनाएको छ । बीबीसीका अनुसार ट्याटु भएका खेलाडीहरूलाई ट्याटु हटाउन पनि निर्देशन दिएको छ । त्यहाँको जाङ लिन्पेङ जस्ता राष्ट्रिय खेलाडीहरूलाई यसअघि नै आफ्नो ट्याटु छोप्न भनिएको थियो ।

समाचार अनुसार चिनियाँ संस्कृतिमा ट्याटुलाई राम्रो मानिदैन । विगतमा ट्याटुलाई अपराधीहरूको चिन्ह मानिन्थ्यो भने पूर्वी एशियामा यसलाई साङ्गठनिक अपराध समूहहरूसँग जोडिन्छ । त्यहाँ हालैका दिनहरूमा ट्याटु लोकप्रिय हुन थाले पनि चीनको सत्तारूढ कम्युनिस्ट पार्टीले त्यसलाई राम्रो मान्दैन ।

गएको वर्षको सुरुमा चीनको प्रसारण निकायले टेलिभिजन र इन्टरनेटमा ट्याटु संगै पुरुषहरूलाई कपाल बाँधेर आउन मनाही गरिएको थियो । गत डिसेम्बरमा महिला विश्वविद्यालयको एउटा फुटबल खेल खेलाडीहरूको रङ्गाइएको कपालका कारण रद्द समेत गरिएको थियो ।

सो खेलका आयोजक न्याश्नल युथ क्याम्पस फुटबल लिगले त्यति बेला एक विज्ञप्तिमा लेखेको थियो: "सबै स्तरका खेलाडीहरूले ट्याटु खोप्न, कपाल रङ्गाउन, वा अन्य कुनै सामग्री लगाउन पाइँदैन, अन्यथा उनीहरू प्रतियोगिताका लागि अयोग्य हुन्छन् ।"

चीनले सन् २०१८ देखि नै टिभीमा ट्याटु देखिनबाट रोक्न नयाँ निर्देशनहरू जारी गरिरहेका छन् । त्यसयता केही व्यावसायिक खेलाडीहरूले ट्याटु छोप्न लामो बाहुला भएको जर्सी प्रयोग गरिरहेका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित