नेदरल्याण्डमा लकडाउन

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २५२ पटक पढिएको

 

कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन नियन्त्रण गर्न भन्दै युरोपेली मुलुक नेदरल्याण्डमा आइतबारदेखि लकडाउन लगाईएको छ । शनिबार नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटेले पत्रकार सम्मेलनमार्फत् आइतबार बिहान ५ बजेदेखि लकडाउन लगाइने घोषणा गरेका हुन् । अत्यावश्यक बाहेक सबै पसल, बार, सिनेमा घर, म्युजियम र नाटकघर जनवरी १४ सम्म बन्द हुने उनको भनाइ छ ।

सोचेको भन्दा तीव्र गतिमा ओमिक्रोन फैलिएको र पाँचौं लहरका कारण लकडाउन अपरिहार्य भएको उनले बताएका छन् । लकडाउन लागेसँगै जनवरी १४ गतेसम्म घरभित्र हुने जमघटमा २ जनाभन्दा मानिस भेला हुन पाउने छैनन् । तर क्रिसमस र नयाँ वर्षमा भने ४ जनासम्म भेला पाउने छन् । बाहिर हुने जमघटमा पनि बढीमा २ जना मानिस मात्रै भेला हुन पाउने छन् ।

त्यस्तै, सबै विद्यालय एवं विद्यालयमा हुने अतिरिक्त क्रियाकलाप जनवरी ९ गतेसम्म बन्द हुनेछन् । जनवरी ३ मा बस्ने मन्त्रिमण्डल बैठकपछि विद्यालय खोल्ने वा नखोल्ने भनेर निर्णय गर्ने अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । 

यसबाहेक, अधिकांश  इन्डोर खेलकुद केन्द्र बन्द गरिने छ तर स्विमिङ केन्द्र भने खुला राखिने छ । तर बाह्य खेलकुद स्थल सबै उमेर समूहका लागि खुला राखिने समाचारमा उल्लेख छ । 

यस बाहेक फ्रान्स, साइप्रस र अस्ट्रियाले यात्रा प्रतिबन्धहरू कडा गरेका छन् । पेरिसले पनि आफ्नो नयाँ वर्षको पूर्वसन्ध्यामा आतिशबाजी रद्द गरेको छ । डेनमार्कले थिएटर, कन्सर्ट हल, मनोरञ्जन पार्क र संग्रहालयहरू बन्द गरेको द गार्डीयनले जनाएको छ । आयरल्याण्डले पब र बारहरूमा बेलुका ८ बजेपछि कर्फ्यू लगाएको छ भने भित्री र बाहिरी कार्यक्रमहरूमा सीमित उपस्थिति लगाएको छ ।

यसैबीच, शनिबार नै विश्व स्वास्थ्य संगठनले समुदायमा संक्रमण देखिएका मुलुकमा ओमिक्रोन डेल्टा भेरियन्टभन्दा निकै तीव्र गतिमा फैलिइरहेको बताएको छ । डेढ दिनदेखि ३ दिनभित्रमा यसका संक्रमित दोब्बरले बढेको संगठनको भनाइ छ । तस्बिर :शटरस्टक

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित