मन्त्री मनाङेको सम्पत्ति विवरण : २ करोड ४० लाख रुपैयाँ ऋण, बैंकमा १० लाख मात्र

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ५९१ पटक पढिएको

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मन्त्री नियुक्त भएको ६० दिनभित्र सार्वजनिक गर्नुपर्ने प्रावधान रहे पनि मनाङेले सम्पत्ति विवरण साढे चार महीनापछि सार्वजनिक गरेका हुन् ।

भदौ २७ गते मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आफ्नै सम्पत्तिबारे अनविज्ञ रहेको बताएका मनाङेको सम्पत्ति मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमार्फत सार्वजनिक गरिएको हो । सम्पत्ति विवरण सार्वजनिक ढिला गरेका उनले त्यतिखेर सम्पत्ति सबै पहिलेको छोराछोरी र श्रीमतीको नाममा राखिदिइसकेको बताएका थिए । 

उनले अर्कैको नाममा जग्गा बैनापट्टा गरेको, संयुक्त लगानीमा जग्गा र कृषि फार्म रहेको तथा आफू ऋणमा रहेको  सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मनाङको प्रदेश सभा ‘ख’ बाट निर्वाचित मनाङेले स्थाथी ठेगाना काठमाण्डू-२९ र हालको ठेगाना पोखरा-१४ काजीपोखरी उल्लेख गरेका छन् । 

मनाङेले काठमाण्डू र मकवानपुरका आधा दर्जन ठाउँमा विभिन्न व्यक्तिको नाममा भएको जग्गामा लगानी गरेका छन् । मनाङेले प्रकाश, कृष्ण र श्याम महर्जनको नाममा काठमाण्डू-२९ धर्मस्थलीमा क्रमशः कित्ता नम्बर २४, ६७, ७६ को जग्गा रहेको खुलाएका छन् । जग्गा प्रतिआना ९ लाख रुपैयाँमा किनेको उल्लेख गरेका छन् ।

यसैगरी मालती महतारासँगको संयुक्त लगानीमा चन्द्रागिरि-२ मा ३ रोपनी जग्गा रहेको मनाङेले उल्लेख गरेका छन् । पदमपोखरी मकवानपुरमा एक रोपनी ९ आना १० दाम संयुक्त जग्गामध्ये छोराको नाममा १५ आना जग्गा रहेको उनले बताएका छन् । उनले कुनै पनि जग्गामा भएको लगानीको स्रोत खुलाएका छैनन् । 

त्यस्तै मनाङेले आफूसँग २२ तोला सुन रहेको उल्लेख गरेका छन् । उनले २०५४ सालमा १५ तोला र २०७० मा ७ तोला तत्कालीन मूल्यअनुसार खरिद गरेको जनाएको छ । मनाङेले  २०५४ मा वैदेशिक रोजगारी र २०७० मा व्यापार व्यवसायबाट सुन प्राप्ति गरेको स्रोत उल्लेख गरेका छन् । मंगलबारको सुनको भाउअनुसार उनीसँग भएको सुनको मूल्य २० लाख २४ हजार रुपैयाँ हुन्छ । 

त्यस्तै मन्त्री मनाङेसँग ४५ तोला चाँदी छ । व्यावसायिक आम्दानीबाट २०६८ सालमा उक्त चाँदी किनेको मनाङेले उल्लेख गरेका छन् । त्यसको आजको बजार मूल्य ५६ हजार २५० रुपैयाँ हुन्छ । पैतृक सम्पतिका रुपमा मुगाको माला ८३ तोला रहेको उनले उल्लेख गरेका छन् । 

त्यसै गरि मनाङेसँग एभरेष्ट बैंक पोखराको खातामा साढे १० लाख रुपैयाँ छ । मनाङेका अनुसार त्यो मन्त्री र सांसद भएबापत प्राप्त तलबभत्ता हो । मनाङेले ६ करोड १० लाख रुपैयाँ ऋण लिएर ३ करोड ७० लाख रुपैयाँ तिरेको सम्पति विवरणमा उल्लेख गरेका छन् । २०७३ सालमा कर्म गुरुङसँग ४० लाख रुपैयाँ ऋण लिएको मनाङेले उल्लेख गरेका छन् । यस्तै रमेश रानासँग २०७७ सालमा ४० लाख रुपैयाँ, मनाङ फलफूल सप्लायर्ससँग २०७३ सालमा ६० लाख ऋण लिएको मनाङेले सम्पति विवरणमा देखाएका छन् ।

टीका भण्डारीसँग दुई करोड ३५ लाख रुपैयाँ ऋण लिएर २०७१ सालमा तिरेको र २०७२ सालमा टासी गुरुङसँग २ करोड ३५ लाख रुपैयाँ ऋण लिएर चुक्ता गरेको विवरण मनाङेले उल्लेख गरेका छन् । विवरणअनुसार मनाङे २ करोड ४० लाख रुपैयाँ ऋणमा देखिएका छन् ।

मन्त्री मनाङेले गत वर्ष गाईभैँसीमा पनि लगानी गरेका छन् । संघर्ष गाईभैँसी प्रालिमा उनको ४० प्रतिशत शेयर छ । मनाङेका अनुसार फार्ममा २०वटा भैँसी र पाँचवटा गाई छन् ।  

मनाङेले २०७० सालमा अकुत सम्पत्ति जोडेको आरोपमा सम्पत्ति शुद्धीकरणको मुद्दा खेपेका थिए । २०७४ सालमा उनले विशेष अदालतबाट सफाइ पाएका थिए । 

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसहित ९ जना मन्त्रीको सम्पत्ति विवरण भदौ ९ गते सार्वजनिक भएको थियो । त्यतिबेला अवधि पुगिसकेको भए पनि मनाङेले सम्पति विवरण बुझाएका थिएनन् । 

मनाङबाट स्वतन्त्र सांसद बनेका मनाङे पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा २ पटकसम्म युवा तथा खेलकुद मन्त्री बनेका थिए । पृथ्वीसुब्बाको सरकार ढल्ने निश्चित भएपछि मनाङेले कित्ता परिवर्तन गर्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादीको गठबन्धन पछि कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो ।

मन्त्रि मनाङेको सम्पत्ति विवरणको पिडिएफ फाईल  

https://drive.google.com/file/d/1iFStHabezIAfF60LqA9t1m6ZnSNAdZZt/view

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित