फिस्ट बम्पको उदय
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ६५४ पटक पढिएको
आलाेक लम्साल । चैत्र २२, २०७७ ।
कल्पना एक बैंककि कर्मचारी हुन् । बैंकिङ् सेवा अत्यावश्यक भएको कारणले उनी लगभग लकडाउनको समयमा र त्यसपश्चात् पनि बैंकमा लगातार काम गर्न जान्थिन् । कोरोनाको समयमा हातमा पञ्जा, अनुहारमा मास्क र ब्यागमा स्यानिटाइजर बोकेर उनी सँधै बैंकमा काम गर्न जान्थिन् । सँधैजसो आफ्ना मित्रजनलाई ह्याण्डशेक र अँगालो मार्ने उनीले कोरोनाको समयमा नमस्कार गर्न थालिन् । केही समय पश्चात् कोरोनाको लहर कम हुने क्रममा उनले लगाउने पञ्जा आफ्नै ब्यागमा सिमित रहन पुग्यो । विस्तारै कर्मचारी बीच दूरी कम हुँदै गयो । उनको नमस्कारको अभिनन्दन पनि क्रमसँगै विलय हुँदै गयो । तत्पश्चात् ह्यान्डशेकको सट्टामा उनले साथीहरु र चिनेजानेका ग्राहकलाई फिस्ट बम्प गर्न थालिन्, किनकि ह्यान्डशेकलाई फिस्ट बम्पले विस्थापित गर्दै थियो ।
कोभिड आयो । मान्छे त्रसित भए । एक अर्कालाई छुनमा बन्देज भयो । फिजिकल डिस्टेन्सिङ् (भौतिक दूरी) र सोशियल डिस्टेन्सिङ् (सामाजिक दूरी), क्वारेण्टिन जस्ता शब्दहरुले झटारो हान्न थाले । मान्छेको जीवनशैलीमा निकै ठूलो परिवर्तन आयो । पहिलो परिवर्तन हो मान्छेले गर्ने अभिवादान । मित्रजन वा आफन्तजन भेट्दा मानिसहरु ह्याण्डशेक र अँगालो मार्ने गर्थे । तर कोरोनाले ती अभिवादनलाई एक किसिमले परिवर्तन नै गरिदियो । आफ्नो सांस्कृतिक पहिचान पनि झल्किने र एक अर्कालाई छुन पनि नपर्ने भएकाले मानिसहरुले एकअर्कालाई नमस्कार गर्न थाले । नमस्कार सामान्यतया निहुरेर वा शिर झुकाएर, दुई हात जोडेर मान्य जनलाई अभिवादन गर्ने क्रिया हो । तर नमस्कार वा नमस्ते मान्यजनलाई मात्र नभएर सबैले सबैले गर्न मिल्ने प्रक्रिया हो । तर नमस्कारको प्रचलन कोरोनाको समयमा केही समय मात्र रहन गयो र विस्तारै त्यो विस्थापित हुँदै गयो । एक लाईनमा भन्नु पर्दा नमस्कारको मार्केटिङ् पुरातनवादी बनाउन खोजिएकाले यो लामो समयसम्म टिक्न सकेन । प्रयोग नै नहुने भन्न खोजेको होइन तर प्रयोगमा कमी भने अवश्य आएकै हो । यो किन र कसरी भयो भन्ने इतिहास अनुसन्धेय छ ।
नमस्कार जस्तो अभिवादन सेलाएसँगै फिस्ट बम्प जस्तो अभिवादन भाइरल हुन पुग्यो । फिस्ट बम्प भनेको के हो र यो कसरी प्रचलनमा आयो भन्ने इतिहासको बारेमा चर्चा गरौं ।
फिस्ट बम्पको इतिहास
हातलाई मुठ्ठी पारेर अर्को साथीको मुठ्ठी परेकै हातमा अभिवादन पाराले विस्तारै छुनेलाई फिस्ट बम्प भनिन्छ । फिस्ट बम्पको ऐतिहासिक शुरुवात अन्योलपूर्ण छ । यद्यपि केही विशेषज्ञहरु केही आधारभूत विषयमा सहमत छन् । ऐतिहासिक रुपमा हेर्ने हो भने, ह्यान्डशेक कै विकसित स्वरुप फिस्ट बम्प हो । ह्यान्डशेकबाट हाई फाइभ र हाई फाइभबाट फिस्ट बम भएको भन्ने केही इतिहासविद्हरु बताउँछन् । वाशिंङ्टनका मानवशास्त्री डेमिड गिभेन्सका अनुसार आधुनिक फिस्ट बम्प सम्भवतः खेलकुदको विश्वबाट विकसित भएको हो । ननभर्बल कम्यूनिकेशनमा फिस्ट बम्पले समानताको संज्ञा दिन्छ । किनभने दुवै व्यक्तिको मुठ्ठीको लेभल समान हुन्छ । गिभेन्सका अनुसार ह्यान्डशेकमा कसैको हात माथि कसैको हात तल हुन सक्छ । तर फिस्ट बम्पमा भने दुुवैको हात बराबरी स्थानमा रहन्छन् ।
फिस्ट बम्पको शुरुवाती नाम नकल बम्प भन्ने पनि भनाई छ । नकल बम्प सन् १९७० को दशक ताका बाल्टीमोर बुलेट गार्ड फ्रेड कार्टर जस्ता बास्केटबल खेलाडीहरुकाे साथ शुरु भयो । कोही कोही के पनि भन्छन् भने फिस्ट बम्पको शुरुवात १९७० ताका हन्ना बारबारा सुपरहीरो कार्टुनबाट भएको हो । १९५०-६० को दशकमा हात मिलाउने विकल्पको रुपमा बेसबल खेलाडी स्ट्यान म्युजियलले फिस्ट बम्प प्रयोग गरेका थिए । उनलाई रुघा खोकी बारम्बर दोहोरिनुको कारण ह्याण्डशेक हुनसक्ने उनको अनुमान थियो । त्यही भएकाले उनले त्यसको विकल्पमा फिस्ट बम्प प्रयोग गरेको पनि भनेका छन् ।
स्मिथसोनियन अनुसन्धाता लामों ह्यामिल्टनका अनुसार ड्याप मतलब फिस्ट बम्प भियतनाम युद्ध ताका ब्ल्याक पावर स्यालुटको परिवर्तित स्वरुपको रुपमा प्रयोग हुन्थ्यो । पछि अमेरिकन मिलिटरीले ड्याप स्वरुपको अभिवादनलाई प्रतिबन्ध लगाएको थियो ।
यो अभिवादन खासगरी अफ्रिकन अमेरिकन समुदायमा प्रचलित छ । अफ्रिकन समुदायमा ड्याप — एकता, शक्ति, प्रतिरोधको प्रतीकको रुपमा प्रयोग भएको पाइन्छ । ड्याप र ब्ल्याक पावर ह्यान्डशेक, जुन ड्यापको स्वरुपबाट विकसित भएको थियोः यो काला जातिको पहिचान, चेतना, ब्ल्याक अमेरिकन सांस्कृतिक एकताको महत्वपूर्ण प्रतीकहरुको रुपमा स्थापित भयो ।
सन् १९९१ मा मार्गरेट पावरले लेखेको पुस्तक अनुसार चिपाञ्जीहरुमा पनि फिस्ट बम्पको व्यवहार देखिएको भनेर पनि लेखिएको छ । कोभिड १९ को माहामारीले त झनै फिस्ट बम्पलाई आधिकारिक अभिवादनको रुपमा स्थापित गरेको छ ।
फिस्ट बम्पकाे अन्य पक्ष
फिस्ट बम्पले विजयको संज्ञा पनि दिन्छ । र यसलाई राजनैतिक तरिकाले व्याख्या गर्ने हो भने फिस्ट बम्पमा क्रान्तिको को ज्वाला पनि लुकेको छ । विस्तारै विस्तारै यसको राजनैतिक इतिहास मेटिँदै गएको अवस्था छ । कोरोना लागेसँगै विभिन्न अनुसन्धाता र डाक्टरहरु फिस्ट बम्प र ह्यान्डशेक कुनमा बढी किटाणु सर्न सक्छ भन्ने तुलनात्मक अध्ययन पनि गर्दै छन् । त्यो अध्ययनले फिस्ट बम्पलाई किटाणु कम सर्ने अभिवादनकाे रुपमा स्थापित पनि गर्यो । सन् २००९ को एच.वान्.एन.वान् माहामारी ताका, भाइरसको संक्रमणलाई रोक्नको लागि फिस्ट बम्प ह्याण्डशेकको राम्रो प्रतिस्थापन हुन सक्छ भनेर क्याल्गरी विश्वविद्यालयका मेडिसिनका डीन, टम फेस्बीले सुझाव दिएका थिए ।
तर फिस्ट बम्पमा पनि एक व्यक्तिले अर्को व्यक्तिलाई छुन पर्ने भएकाले, त्यसमा किटाणु सर्न सक्ने सम्भावना कायम रहीरहन्छ । वैज्ञानिक दृष्टिकोणबाट हेर्ने नै हो भने नमस्कार जत्तिको प्रभावकारी फिस्ट बम्प पनि हुन सक्दैन । तर पनि हरेक अभिवादनको आफ्नै इतिहास हुन्छ र आफ्नै शैली । ती अभिवादनको शब्दसाधन गर्ने हो भने पनि सांस्कृतिक, वैज्ञानिक र अन्य थुप्रै जानकारी पाउन सकिन्छ ।
जब बराक ओबामाले फर्स्ट लेडी मिशेल ओबामासँग फिस्ट बम्प गरे यो एक्कासी मिडियाको ट्रायलमा आउन पुग्यो । न्यू वर्क टाईम्सले यसलाई “क्लोज फिस्टेड हाइफाइभ” नामकरण गर्यो । यो घटनाभन्दा अगाडि पनि थुप्रै अवस्थामा यसको प्रयोग भएको हुँदा हुँदै पनि बराक ओबामा र मिशेल ओबामाले यसलाई भाइरल नै बनाइदिए ।
फिस्ट बम्प वास्तवमा भन्ने हो भने संसारभरि फैलिएको छ । मानवशास्त्री गिम्सका अनुसार फिस्ट बम्प केवल अभिवादन मात्र नभएर यसले विजय र स्वीकृतिको संकेत पनि गर्दछ ।
हरेक देशको, समुदाय र संस्कृतिको आ-आफ्नै अभिवादन शैलीहरु हुन्छन् । ती शैलीलाई हामीले उत्खनन गर्नै पर्छ ।