विमानस्थल सञ्चालन गरेपछि यात्रुहरु निकै खुशी
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ९२६ पटक पढिएको
नेपाल वायुसेवा निगमले सुदूरपश्चिमको बझाङको चैनपुर, अछामको साँफे र डोटीको दिपायल विमानस्थल सञ्चालन गरेपछि यात्रुहरु निकै सहज भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ती जिल्लामा नेपाल एयरलाइन्समार्फत नियमित सेवा उपलब्ध गराउन निर्देशन दिएका छन् । अहिले ती जिल्लामा उडान सञ्चालन भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरण धनगढीस्थित गेटा विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए ।
उनले भने, ‘हामीले हप्तामा दुई पटक सोमबार र शुक्रबार नियमित उडान सुरु गरेका छौं र यात्रु संख्याका आधारमा बाजुरा जिल्लामा उडान भरेका छौं । निगमले सुदूरपश्चिमका तीन जिल्लामा उडान गर्न थालेपछि यात्रुको चाप बढेको गेटा विमानस्थल कार्यालयले जनाएको छ ।
निगमले केही समयअघि सुदूरपश्चिममा यात्रु अभाव र जहाज नहुँदा उडान बन्द गरेपछि निजी क्षेत्रका कतिपय कम्पनीले यात्रु सङ्ख्याका आधारमा उडान भर्दै आएका छन् ।
सुदूरपश्चिमका पहाडी जिल्ला बैतडीको पाटन विमानस्थलमा निगमले हवाई सेवा सञ्चालन गर्न सकेको छैन । नेपाल एयरलाइन्सले उडान गर्न नसकेपछि निजी क्षेत्रको विमान सेवा समिट एयरले विमानस्थलमा उडान भर्ने गरेको बताइएको छ ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले सुदूरपश्चिमका पहाडी जिल्लामा नियमित जहाज सञ्चालनका लागि गृहकार्य थालिएको जानकारी दिनुभयो । उनले भने, ‘अहिले साप्ताहिक रुपमा सुदूरपश्चिममा उडान गर्न नेपालगञ्जमा वायुसेवा कम्पनी पठाइएको छ । छोटो समयमा यात्रु संख्याका आधारमा नियमित उडान गर्ने तयारी भइरहेको छ ।
डोटीको दिपायल सिलगढी नगरपालिका–३ का गणेशबहादुर सौन्दले आफ्नो घर नजिकै विमानस्थल भए पनि विमान नआउँदा सुदूरपश्चिमका जनता निकै दुःखी भएको बताए ।