पर्यटनको लागि साइकल यात्रा
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ५०५ पटक पढिएको

सुदूरपश्चिम पर्यटन साइकल यात्रा २०७८ शनिबारदेखि सुरु भएको छ । नेपाल र भारतका ८७ साइकल यात्री सहभागी भएको उक्त साइकल यात्रा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले एक कार्यक्रमकाबीच उदघाटन गरेका छन् ।
धनगढीबाट निस्केका उनीहरुले कैलाली र डोटीका पर्यटकीय स्थल हुँदै डोटीको बुडर पुगेर तीन दिनमा यात्रा समापन गर्नेछन् । सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले फारवेष्ट राइडर्स क्लबको सहकार्यमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले साइकल यात्राको आयोजना गरेको हो ।
फारवेष्ट राइडर्स क्लबका अध्यक्ष भरतविक्रम शाहका अनुसार यात्रामा, ‘भारतको गाजियावाद, नैनीताल, बरेली, विहार र नेपालको काठमाडौं, चितवन, नवलपरासी, कैलाली, कञ्चनपुरका राइडरहरुको सहभागिता छ’।
पुस ५ गतेसम्म सञ्चालन हुने साइकल यात्राको धनगढी–गोदावरी हुँदै डोटीको बुडरसम्म पुग्ने आयोजक उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालयले जनाएको छ ।
करिब ८० किलोमिटर साइकल यात्राका क्रममा बीचबीचमा सुदूरपश्चिमको मौलिक संस्कृति झल्कने सांस्कृतिक कार्यक्रमहरु देखाइनेछ । यात्राको अन्तिम दिन बुडरमा साइकल रेस प्रतियोगितासमेत सञ्चालन गरिने तयाई रहेको छ ।
पर्यटकीय स्थल छतिवन तालदेखि भीमदत्त राजमार्गसम्म पाँच किलोमिटर दुरीमा गरिने साइकल रेसका विजेतालाई १५ हजार, उपविजेतालाई १० हजार र तेस्रो हुनेलाई पाँच हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।