वायुसेवा निगमलाई खतराजन्य पदार्थ बोक्ने अनुमति
- वर्ल्ड दैनिक
- १ साल अघि
- १५७ पटक पढिएको

नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानमा डेन्जरस गुड्स (खतराजन्य पदार्थ) ढुवानीको अनुमति पाएको छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा एक कार्यक्रमका बीच निगमलाई अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थको ढुवानी अनुमति प्रमाणपत्र जारी गरिएको हो ।
निगमलाई हाल मेडिकलतर्फ एक्स–रे मेशिनसँग सम्बन्धित रेडियो फर्मास्युटीकल सामान र ल्यापटप, मोबाइलमा प्रयोग हुने लिथियम–आयन ब्याट्री लगायत खतराजन्य पदार्थको ढुवानीमा मात्रै अनुमति प्रदान गरिएको हो । क्यानले निगमलाई खतराजन्य सामग्री सूचीको नवौं र रेडियोधर्मी विकिरणयुक्त उपयोगी सामान बोक्न पाउनेगरी प्रमाणपत्र दिएको हो ।
नागरिक उड्डयन प्राधिकरण (क्यान)ले निगमको अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थ (डीजी) बोक्ने अनुमति पाए सँगै अनुमतिपत्र अनुसार त्यस्ता सामान ढुवानीका लागि तोकिएका मापदण्डहरु भने पूरा गर्नुपर्ने छ । प्राधिकरणको फलाइट सेफ्टी स्ट्याण्डर विभागका अनुसार, नेपाली वायुयान (जहाज) तर्फ खतराजन्य पदार्थ बोक्ने अनुमति पाउने निगम पहिलो वायुसेवा कम्पनि बनेको छ ।
प्राधिकरणले यसअघि हेलिकप्टर कम्पनीतर्फ श्री एयरलायन्सको एमआई–१७ रसियन हेलिकप्टरलाई मात्रै खतराजन्य पदार्थ (डीजी) बोक्ने अनुमति दिएको थियो ।
अन्तर्राष्ट्रिय उड्डयन संगठन (आइकाओ)ले मानव स्वास्थ्य तथा शुरक्षालाई असर पुर्याउने ९ प्रकार (ज्वलशील ग्यास, तरल पदार्थ, ठोस पदार्थ, अक्सीडाइजिङ, विषाक्त तथा संक्रामक, रेडियोधर्मी लगायत) का खतराजन्य पदार्थको वर्गिकरण गरेको छ ।